२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' राजनीतिक निकास दिन संविधान पुनःलेखन'  : अध्यक्ष यादव

बुधवार , माघ २८, २०८२

 

कल्याणपुर (सप्तरी), माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई राजनीतिक निकास दिन संविधान संशोधन वा पुनस्लेखन आवश्यक रहेको बताएका छन ।

संघीय लोकतान्त्रिक गणतन्त्र लाई संस्थागत नगरे सम्म देशले राजनीतिक निकास नपाउने हुँदा त्यसको लागि संविधान संशोधन वा पुनस्लेखन आवश्यक रहेको बताएका हुन ।

राजविराजमा बुधबार प्रेस मञ्च नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधानकै कारण देशमा मुलुकमा राजनैतिक समस्या उत्पन्न भएको भन्दै उनले संघीयता र समावेशितालाई बलियो बनाउँदै असमानतालाई हटाए मात्र लोकतन्त्र बलियो हुने धारणा राखे ।

लोकतन्त्रमा निर्वाचन अपरिहार्य रहेको बताउँदै उनले राजनीतिक द्वन्द्वलाई हल गरेर देश निर्वाचनमा गएको भए आउने दिनमा राम्रो हुन सकिने विश्वास व्यक्त गरे । अहिले संविधान लिकमा छैन्, देशलाई सही बाटोमा ल्याउन संविधान पुनर्लेखन आवश्यक छ,' उनले भने ।

संविधानमा गरिएको समावेशिताको व्यवस्था पछाडी पारिएका तथा सिमान्तकृतलाई उकासनका लागि रहेको भए पनि शासकवर्गले नै त्यसबाट बढी फाइदा लिई रहेको उनले जिकिर गरे ।

मधेशमा ६० प्रतिशत जनसंख्या रहेको तर त्यस अनुपातमा निर्वाचन क्षेत्र नरहेको उल्लेख गर्दै यसका लागि पनि संविधान संशोधन र पुनर्लेखन गरी निर्वाचन क्षेत्रको पुनर्संरचना गर्नु आवश्यक छ अध्यक्ष यादवले उल्लेख गरे ।

सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले जनताको घरदैलोमा जाँदा शिक्षा स्वास्थ्य र कानुनी सहायताको मामिलामा दरिद्रता देखिएको सुनाए ।

सरकारी स्कूलमा राम्रो पढाई नहुँदा जग्गा बेचेर पढाउने बाध्यता, स्वास्थ्य सेवा सहज नभएको र स-साना कुरामा पनि मुद्दा लड्नुपरेको छ ।

अध्यक्ष यादवले भने, 'शिक्षा, स्वास्थ्य र कानुनी सहायताको मामिलामा यो राजनीतिक दरिद्र हुनुपर्ने अवस्था हो ।' यस्तै, उनले शिक्षा स्वास्थ्य र न्यायको सवालमा राज्यले दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार