२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस दोस्रो विशेष महाधिवेशन

तयारी तीव्र : ' प्रतिनिधिलाई शनिबारसम्म आइपुग्न आग्रह '

शुक्रवार , पौष २५, २०८२

 

काठमाडौँ,  पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको आयोजकले जनाएको छ । पुस २७ र २८ गते भृकुटीमण्डपमा हुन लागेको विशेष महाधिवेशनका लागि जिल्ला जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम जारी रहेको छ ।

आयोजक समूहले प्रतिनिधिहरूको सुविधा सुनिश्चित गर्न काठमाडौंका विभिन्न होटेलमा १५ सय कोठा छुट्टाइएको बताएको छ । एयरपोर्टदेखि ठमेलसम्मका विभिन्न होटलका कोठा बुक गरिएको हो । 

आवास तथा खानपान व्यवस्थापन समितिका संयोजक रमेश धमलाले महिला, ज्येष्ठ नागरिक र अपांगता भएका प्रतिनिधिहरूका लागि विशेष व्यवस्थासहित कोठाहरू बुक गरिएको बताए । 

काठमाडौँमा घर भएका वा आफन्तको घरमा बस्ने प्रतिनिधिहरूलाई सो अनुसार व्यवस्थापन गर्न अनुरोध गरिएकोसमेत उनले जानकारी दिए ।

सबैलाई शनिबारसम्म काठमाडौँमा आइपुग्न भनिएको छ । कांग्रेसलाई पुनःजागरण गर्नका लागि पनि विशेष महाधिवेशनले भूमिका खेल्ने भन्दै महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका हुन् ।

पार्टीको विधानअनुसार महाधिवेशन बोलाएका उनीहरूको कार्यक्रम असफल बनाउन बहिर्गमन नजिक पुगेका सभापति शेरबहादुर देउवाले आफू निकटको नेतृत्वमा रहेका संघ संगठनका नेतृत्वलाई उचालिरहेका छन् ।

विधानअनुसार कांग्रेसको विशेष महाधिवेशन पुस २९ भित्र भइसक्नुपर्छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार