काठमाडौँ, पुस । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ - २८ को विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभएको बताएका छन । उनले बिशेष महाधिबेशन बदलिएको समय अनुसार पार्टीलाई नयाँ ऊर्जा र दिशा दिन भएको स्पष्ट पारेका छन् ।
महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा राख्दै भनेका छन, विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक, बाध्यकारी र समयको माग भएको बताएका छन् ।
विशेष महाधिवेशनको आह्वान भइसकेपछि पार्टीभित्र र बाहिर उठिरहेका जिज्ञासाबारे स्पष्ट गर्दै शर्माले विशेष महाधिवेशन भए पार्टी फुट्छ कि भन्ने आशंका नराख्न आग्रह गरेका छन ।
विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन भन्दै उनले पार्टी विभाजनको अवस्था आए आफू सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिरिने र पार्टी जोगाउन सबैसँगै उभिने बताएका छन् ।
महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठ्नु अनावश्यक भएको उल्लेख गरेका छन ।
शर्माले पार्टी विधानको धारा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारणसहित लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको स्मरण गराएका छन् ।
उनका अनुसार केन्द्रीय समितिले आवश्यक ठानेन भन्दै विशेष महाधिवेशन रोक्न मिल्दैन ।
विशेष महाधिवेशन आवश्यक पर्नुको कारण उल्लेख गर्दै शर्माले अहिलेको नेपाल भदौ २३ अघिको नेपाल नरहेको बताएका छन् ।
समय, परिस्थिति, चुनौती र जिम्मेवारी बदलिएको अवस्थामा पार्टीले एउटै थलोमा उभिएर नयाँ दृष्टि, योजना र संकल्प लिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । त्यसैले विशेष परिस्थिति, विशेष निर्णय र विशेष महाधिवेशन अपरिहार्य भएको उनले उल्लेख गरेका छन् ।
महाधिवेशन मागका क्रममा हस्ताक्षर नगरेका प्रतिनिधि सहभागी हुन नपाउने भन्ने भ्रम पनि निराधार भएको शर्माको भनाइ छ । विशेष महाधिवेशन हस्ताक्षर गर्नेहरूको मात्रै नभई सबै महाधिवेशन प्रतिनिधिको साझा मञ्च भएको उल्लेख गरेका छन ।
उनले पुस २७ गते भृकुटीमण्डपमा हुने उद्घाटन समारोहमा सबै तहका नेता–कार्यकर्तालाई सहभागी हुन आह्वान गरेका छन् ।
विशेष महाधिवेशनले माघ ६ को उम्मेदवारी दर्ता र फागुन २१ को निर्वाचन प्रक्रियालाई असर पार्ने भन्ने आशंकाप्रति पनि शर्माले असहमति जनाएका छन् ।
मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर मैदानमा उत्रिएको कांग्रेसले राम्रो परिणाम दिने उल्लेख गर्दै उनले विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेर पार्टी एकढिक्का भएर निर्वाचनमा जाने दाबी गरेका छन् ।
बदलिएको समयको जिम्मेवारी बोध गर्दै पार्टीले आफैंलाई रूपान्तरण गर्नुपर्ने भन्दै शर्माले विधानको व्यवस्था कार्यान्वयन गर्नु पार्टी विभाजन होइन, बरु विधानको रक्षा भएको बताएका छन् ।
उनले असहमति भए पनि नम्रतापूर्वक प्रस्तुत हुन आग्रह गर्दै विचारको प्रस्फुटन शान्त र मधुर हुने स्मरण गराएका छन् ।
विशेष महाधिवेशन बदलिएको समयको काँग्रेस र बदल्नुपर्ने देशका लागि भएको उनको निष्कर्ष छ । कान्तीपुरबाट