बिराटनगर, (रानी) पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला केही दिनयता आफ्नो निर्वाचन क्षेत्रका गतिविधिमा सक्रिय रहेका छन । आफ्नो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं. ६ का नेता तथा कार्यकर्तासँग गत बुधबारदेखि नै उनले भेटघाट गरिरहेका छन ।
पार्टीको एकल सिफारिसमा पर्नु भएका उनले मुलुकमा गहिरिँदो सुरक्षा सङ्कटप्रति सरकारको उदासीनताले आगामी फागुन २१ गतेको निर्वाचन नै प्रश्नको घेरामा परेको टिप्पणी गरेका छन ।
विराटनगर - ६, सरौचियामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले निर्वाचनको वातावरण बनाउन सरकार असफल देखिएको समेत आरोप लगाए।कांग्रेस निर्वाचनमा जाने निर्णयमा स्पष्ट छ, उनले भने, तर सरकारले शान्ति सुरक्षा प्रत्याभूति नगरी निर्वाचन सम्भव छैन ।
जेलबाट ५ हजारभन्दा बढी कैदी फरार हुनु, सुरक्षाकर्मीका हतियार लुटिनु र दोषीहरू अझै पक्राउ नपर्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै उनले सरकारको प्राथमिकता गलत दिशामा गएको बताए ।
पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलका शीर्ष नेताहरूलाई काठमाडौँ बाहिर जान नपाइने अवस्था सिर्जना हुनु लोकतान्त्रिक अभ्यासकै अपमान भएको नेता कोइरालाको ठहर छ ।
भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका घटनाबारे बोल्दै नेता कोइरालाले दुवै घटनालाई फरक सन्दर्भमा हेर्नु पर्ने बताए । पार्टीको १५औँ महाधिवेशनबारे बोल्दै नेता कोइरालाले केही समय तलमाथि हुनसक्ने सङ्केत गरे ।
सभापतिको उम्मेदवारी दाबी गर्दै आएका उनले नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिँदै क्रियाशील सदस्यता व्यवस्थापनमा गम्भीर हुन कार्यकर्तालाई आग्रह गरे।
कोइरालाले एसअघि मोरङको सुन्दरहरैँचा ५ मा निर्माण गरिएको बुद्ध विहारको शुक्रबार उद्घाटन गरेका थिए । सो क्रममा पनि नेता कोइरालाले आफू नियमित रूपमै आफ्नो क्षेत्रको विकासका गतिविधिसँग जोडिएको उल्लेख गर्दै विकासको गति क्रमसँगै उल्लेख गरे।
उनले पार्टीका नेता कार्यकर्तासँगको छलफलमा निर्वाचनमा जुट्न जनतासँग जोडिन निर्देशनसमेत दिए ।