सर्लाही, मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन ।
नेपाल प्रेस युनियन सर्लाहीले शनिबार सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका छन । यो पटक पार्टीका साथीले नयाँ नीति, नयाँ सन्देश सँगै नयाँ नेतृत्व छान्नुहुन्छ भन्नेमा म विश्वस्त छु,थापाले भने, १५ औँ महाधिवेशनमा म सभापतिको प्रत्यासी हो ।
कांग्रेस महामन्त्री थापाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अघि नै पार्टीको महाधिवेशनमा जानुपर्ने स्थिति बनेको बताएका छन ।
बीचको केही समय छलफल र बहसमा खेर फाले पनि अब छोटो समयमा पार्टीको महाधिवेशन सम्पन्न गरेर फागुन २१ को निर्वाचनमा सरिक हुने निर्णय गरिएको कांग्रेस महामन्त्री थापाको भनाइ छ ।
पार्टीको महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अघि बढाइएको थापाले बताए । कांग्रेस महामन्त्री थापाले वर्तमान सरकारले फागुन २१ मा चुनाव गराउने विश्वास व्यक्त गरे । चुनावले संविधानमाथिको क्षति थप बढ्न नदिने उनको भनाइ छ ।
नेपाली कांग्रेसको तर्फबाट फागुन २१ को निर्वाचनप्रति हामी पूर्ण प्रतिबद्ध छौँ । महामन्त्री थापाले भने, “दलहरू तयार भइसकेकाले सरकार पनि सम्पूर्ण संसय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ ।
थापाले जेनजी आन्दोलनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौति हुन सक्ने कुरा सरकारलाई अवगत गराइएको बताए ।
उनले सबै समूह र राजनीतिक दलले चुनावमा भाग लिन पाउनुपर्ने माग शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले राखेको सर्वदलीय बैठकमा राखिएको बताएभका छन ।
कांग्रेस महामन्त्री थापाले आफू यो पटक पनि काठमाडौँबाटै चुनाव लड्ने बताए ।
सर्लाहीको क्षेत्र नं. ४ बाट यसअघिको निर्वाचनमा समेत चुनाव लड्न प्रस्ताव आए पनि पार्टीभित्र प्रायः आफ्नै क्षेत्रबाट चुनाव लड्ने परिपाटी रहेकाले आफू अहिलेकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धी हुने कांग्रेस महामन्त्री थापाले जानकारी दिए ।