गौशाला (महोत्तरी), कार्तिक । आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायलाई उच्च सतर्कता र सुदृढ तयारीका साथ खटिन निर्देशन दिएका छन ।
महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीमा मङ्गलबार आयोजित सुरक्षा बैठकमा गृहमन्त्री अर्यालले निर्वाचनको सफलता सुनिश्चित गर्न सुरक्षा निकायको भूमिकालाई अत्यन्तै महत्वपूर्ण बताए ।
उनले उच्च मनोबलका साथ रणनीतिक ढंगले सुरक्षा व्यवस्था मिलाउन सबै निकायलाई आह्वान गरे। गृहमन्त्री अर्यालले भने, “जेनजी पुस्ताको आन्दोलनको मर्म सुशासन र सुरक्षामा निहित छ। त्यसैले वर्तमान सरकार नागरिक सुरक्षाप्रति अत्यन्तै संवेदनशील छ।”
उनले मधेश प्रदेश सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्र भएकाले यहाँको अवस्थालाई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न निर्देशन दिए । सुदृढ सुरक्षा प्रणाली निर्माणका लागि आवश्यक सबै प्रकारका सेवा र सुविधा उपलब्ध गराउन सरकार तयार रहेको गृहमन्त्री अर्यालले बताए ।
उनले राजनीतिक निकासका लागि चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै अधिकांश राजनीतिक दल चुनावप्रति सकारात्मक भएकाले अब निर्वाचनको अनुकूल वातावरण बन्दै गएको विश्वास व्यक्त गरे ।
बैठकमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव, धनुषा, महोत्तरी, सर्लाही र सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरीका नायव सशस्त्र प्रहरी महानिरीक्षक, चारै जिल्लाका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको थियो।