२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चितवन राष्ट्रिय निकुञ्ज

नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै  : ' बजेटको अभाव, पाल्न कठिन'

शनिवार , फाल्गुण १०, २०८१

 

चितवन, फागुन । चितवन राष्ट्रिय निकुञ्जमा खोरमा सातवटा बाघ पालिएका छन् । ती बाघलाई दैनिक पाँच किलो मासु खुवाउनुपर्ने हुन्छ । कार्यालयको वार्षिक बजेटले दुई महिना मात्रै पुग्ने गर्दछ ।
 
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा बाघको आहारका लागि रु चार लाख ३८ हजार बजेट निकासा भएको छ । 

एक महिनामा सात वटा बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक रु दुई लाख दुई हजार ५०० खर्च हुन्छ । साउन र भदौको मासुको भुक्तानी भएको भए पनि त्यस यताको भुक्तानी हुन सकेको छैन ।
 
बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए। 

निकुञ्जको कसरामा तीन, देवनगरमा दुई र सौराहामा दुई बाघ खोरमा छन् । झण्डै दुई महिनाअघि माडीमा नियन्त्रणमा लिइएको बाघलाई राख्ने ठाउँ नभएर पर्सा पठाइएको थियो ।
 
उनले भने, “हामीसँग खोरमा राखिएका बाघको आहारा र आवश्यक परेमा नियन्त्रणमा लिएर थप बाघ राख्ने ठाउँ छैन ।” 

वर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उनले बताए । थप बजेटका लागि निकुञ्जले विभागमा पत्राचार गर्ने तयारी गरेको छ ।
 
बाघ हिंस्रक बनेमा नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा बयस्क १२८ बाघ रहेका छन् ।रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार