हरित अर्थतन्त्र भन्नेबित्तिकै वातावरणीय दिगोपनलाई प्राथमिकता दिने आर्थिक प्रणाली बुझिन्छ । यसमा आर्थिक विकास र पर्यावरण संरक्षण सँगसँगै अघि बढ्ने नीति समावेश गरिन्छ । हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जाको रूपान्तरण एक प्रमुख आधार हो, जसले प्रदूषण घटाउँदै ऊर्जा आवश्यकतालाई पूरा गर्छ र दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत गर्दछ । उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रुपान्तरणबाट आर्थिक समृद्धि ल्याउन सकिने भएकाले हालै ल्याइएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ मा पनि विभिन्न सम्भावनाहरुको उजागर गरिएको छ ।
परम्परागत ऊर्जाका स्रोतहरुको प्रयोगबाट वातावरणमा प्रतिकूल प्रभाव पार्नुका साथै जनताको जीवनस्तर अभिवृद्धिमा पनि अवरोध ल्याउँछ । पेट्रोल, डिजेलजस्ता खनिज इन्धनको प्रयोगले वातावरणमा हरितगृह ग्यास उत्सर्जन गर्ने हुँदा यस्ता ऊर्जाका स्रोतहरुबाट उत्पन्न हुने नकारात्मक प्रभावलाई स्वच्छ ऊर्जाका माध्यमबाट घटाउन सकिन्छ ।
खनिज तथा परम्परागत ऊर्जाको प्रयोगले गर्दा नै आज विश्व जलवायु परिवर्तनबाट सिर्जित अनेक समस्याहरुबाट नराम्ररी प्रभावित बनेको छ । यस शताब्दीकै मुख्य चुनौतीका रुपमा रहेको जलवायु परिवर्तनको प्रभावलाई कम गर्न स्वच्छ तथा नवीकरणीय ऊर्जा प्रयोग अपरिहार्य हुन्छ ।
स्वच्छ ऊर्जाको प्रयोगले वातावरणीय सन्तुलन कायम राख्न मात्र नभई रोजगारी सिर्जना र स्थानीय स्रोतहरूको उपयोग भई दिगो विकासमा सहयोग पुग्दछ । नेपाल स्वच्छ तथा नवीकरणीय ऊर्जाको ठूलो सम्भावना रहेको मुलुक भएकाले यसको उपयोगबाट आयातित इन्धनमा निर्भरता घटाएर ऊर्जा सुरक्षामा वृद्धि गर्न र मुलुकको अर्थतन्त्रलाई नै बलियो बनाउन सकिन्छ ।
नेपालको हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जाका रूपान्तरणका क्षेत्रहरूमा जलविद्युत्, सौर्य ऊर्जा, बायोग्यास र जैविक ऊर्जा, वायु ऊर्जा, भू–तापीय ऊर्जा, बायोमासजस्ता ऊर्जा स्रोतहरु रहेका छन् ।
ऊर्जा रुपान्तरणको सम्भावना
परम्परागत ऊर्जा र आयातित इन्धनमा नै निर्भर रहँदै आएको नेपालमा पछिल्लो केही वर्षयता ऊर्जा रूपान्तरण विविध क्षेत्रमा भइरहेको छ । देशको भौगोलिक र प्राकृतिक स्रोतहरूको उपलब्धताले ऊर्जा एक प्रकारबाट अर्को प्रकारमा परिवर्तन गरी उपयोग गर्न धेरै सम्भावना प्रदान गरेको छ ।
नेपाल जस्तो विकासशील देशमा ऊर्जा रूपान्तरणले आर्थिक विकास, ग्रामीण क्षेत्रको विकास र जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्छ । विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा पनि ऊर्जा रुपान्तरणमा जोड दिन थालिएको छ ।
नेपालमा पानीको स्रोत अत्यधिक भएकाले जलविद्युत् ऊर्जा रूपान्तरणको प्रमुख क्षेत्र हो । नदी र जलाशयहरूमा पानीको शक्तिलाई टर्बाइनका माध्यमबाट विद्युत् ऊर्जामा रूपान्तरण गरिन्छ । सूर्यको किरणलाई सोलार प्यानलमार्फत विद्युत् ऊर्जाका रुपमा रुपान्तरण गरिएको छ ।
घरेलु सौर्य प्रणालीका रुपमा उपयोग हुँदै आएको सौर्य ऊर्जा अहिले मेगावाटका रुपमा विस्तार भएको छ । सौर्य ऊर्जालाई मिनीग्रिडका रुपमा वितरण गर्न थालिएको छ । जैविक फोहरदेखि गाईभैँसीको गोबर, कृषिजन्य फोहर र जैविक फोहरलाई बायोग्यास प्लान्टबाट ग्यास मात्र नगरी विद्युत् ऊर्जामा रूपान्तरण गरिएको छ ।
हिमाली र पहाडी क्षेत्रमा हावाको शक्तिलाई विद्युत् ऊर्जा उत्पादन गर्ने प्रयासहरु पनि भइरहेका छन् । पेट्रोल, डिजेल जस्ता खनिज इन्धनलाई प्रयोग गरेर सवारी साधन र मेसिनहरू चलाउन यान्त्रिक ऊर्जामा रूपान्तरण गरिन्छ । नेपालमा रहेको थर्मल स्प्रिङ (हट स्प्रिङ) हरूलाई भू–तापीय ऊर्जामा रूपान्तरण गर्ने सम्भावना छ ।
जलवायु नीति कार्यान्वयनमा स्वच्छ ऊर्जाको प्रभाव
नेपालले पेरिस सम्झौतामा प्रतिबद्धता जनाएबमोजिम सन् २०४५ सम्ममा खुद शून्य उत्सर्जनको लक्ष्य हासिल गर्नका लागि जलविद्युत्बाहेकका नवीकरणीय ऊर्जाको विकास गर्नुपर्नेछ भने सन् २०३० सम्ममा २० प्रतिशत ऊर्जाको खपत नवीकरणीय स्रोतबाट गर्ने आवधिक योजनामा उल्लेख छ ।
नेपालले दोस्रो राष्ट्रिय निर्धारित योगदान २०२० को प्रतिवेदनले २०३० सम्ममा पाँच हजार मेगावाट क्षमता बराबर नवीकरणीय ऊर्जाबाट विद्युत उत्पादन गर्ने लक्ष्य तय गरेको छ ।
नेपालले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदानहरू (एनडिसी) र दीर्घकालीन रणनीतिहरूको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । अन्तर्राष्ट्रिय कोष जस्तै हरित जलवायु कोष र अन्य दातृ निकायबाट जलवायु अनुकूलन र न्यूनीकरणका लागि स्रोत परिचालन गर्न वित्तीय नीतिहरूलाई जलवायुमैत्री बनाउनुपर्ने आवश्यकता छ । साथै, प्रविधि हस्तान्तरण र स्वच्छ ऊर्जा र दिगो कृषि प्रविधिहरू अपनाउने गरी योजना बनाउनुपर्ने हुन्छ ।
जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनहरुमा गरिएको सङ्कल्प प्रस्तावहरुमा समेत नेपालले पेट्रोलियम पदार्थको प्रयोगमा न्यूनीकरण गर्ने तथा नवीकरणीय ऊर्जाको लगानीलाई वृद्धि गर्ने भन्ने प्रतिबद्धता जनाएको सन्दर्भमा जलविद्युत् तथा सौर्य ऊर्जाको सम्मिश्रणमा जोड दिनुपर्ने हुन्छ ।
स्वच्छ ऊर्जाको व्यापार
नेपालले स्वच्छ ऊर्जाको प्रयोग गरी कार्बन उत्सर्जन न्यूनीकरण गरी कार्बन व्यापारसमेत गरिसकेको छ । कार्बन व्यापारमार्फत हालसम्म चार अर्ब ७५ करोड रुपियाँ तीन करोड ५२ लाख ७० हजार अमेरिकी डलर आम्दानी गरेको छ । सन् २०११ देखि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सञ्चालन गर्दै आएका विभिन्न आठ कार्बन व्यापारका परियोजनामार्फत यस्तो आम्दानी गरेको हो । केन्द्रले यस शीर्षकमा गत आर्थिक वर्षमा मात्रै २८ लाख ७५ हजार अमेरिकी डलर आम्दानी गरेको थियो ।
हालसम्म केन्द्रमार्फत ६० लाख मेट्रिक टन कार्बन बिक्री गरिएको छ । गतवर्ष यो परिमाण पाँच लाख ४२ हजार मेट्रिक टन कार्बन उत्सर्जन न्यूनीकरण रेकर्ड गरी यस्तो आम्दानी गरिएको हो भने आगामी वर्षमा कार्बन व्यापारको रकम बढ्दै जानेछ ।
कार्बन उत्सर्जन गराउने मुख्य तत्व हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न सकिने हुँदा नवीकरणीय ऊर्जा प्रवद्र्धनमा लगानी बढाउनुपर्नेमा जोड दिनुपर्दछ । हरित ऊर्जा निर्यातको सम्भावना वृद्धि गर्न नवीकरणीय ऊर्जा स्रोतहरू सौर्य ऊर्जा, वायु ऊर्जा र जैविक ऊर्जा प्रविधिमा लगानी बढाउनुपर्ने हुन्छ । स्वच्छ ऊर्जा रुपान्तरणलाई तीव्रता दिनको लागि रणनीतिको खाँचो रहेको छ ।