२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

“गम्भीर परिस्थितिलाई बुझौँ, स्वार्थ र अहंमता त्याग”

आइतवार , चैत्र २३, २०७६

हाम्रो देशमा राजनीतिक, आर्थिक र सामाजिक रुपमा आज बिषम परिवेश र परिस्थिति सृजना भएको छ । र यो अवस्था पहिले पनि पटक पटक यस्ता राजनैतिक सङकट र विवाद नआएको होइन । तर यस्ता आइपरेका संङकटका घडीमा सबै तिक्तता हटाएर राष्ट्रिय मुद्दामा सबै नेपाली एकजुट हुने गरेको हामीकहाँ जीवन्त इतिहास छ् । तर यति धेरै जनताको बिश्वास पाएर बहुमत प्राप्त सरकार र राजनीति यसरी र यती धेरै आलोचित हुनु र त्यसमा पनि सरकारका जिम्मेवार मन्त्री र उच्च पदस्थ कर्मचारी पटक पटक भ्रष्टाचार जस्तो जघन्य अपराधमा संलग्न भएको सप्रमाण छताछुल्ल हुनु नेपाल र नेपालीका लागि त्यसै पनि रामे होइन भने यससँगै भविष्यका लागि पनि शुभ संकेत होइन भन्ने नै देखिन्छ । त्यसमा पनि स्पष्ट भयो कि सरकार र यसले थरेका काम कारबाही र ब्यबस्थापकीय पक्ष हेर्दा सबै संरचना नालायक छ्न र असक्षम छन भनेर ।
राष्ट्र असहज परिस्थितिबाट गुज्रिएको छ । यस्तो अवस्थामा अलग जिम्मेवारी र दायित्व लिएर बसेको सेना गुहार्नुलाई सर्वसाधारणदेखि बौद्धिक बर्गसम्मले के बुझ्ने ? यात सरकारमा भरोसायोग्य ब्यक्ति र काम गर्ने क्षमता नै नर्भका छन । यात सरकारले आफैंलाई लाचार घोषणा गरिरहेको छ । या त सेनाको काम कारबाहीको अख्तियारलाई सोझै छानबिन गर्ने अधिकार छैन र आफ्नो लुटतन्त्रलाई बलियो बनाउन सेनालाई माध्यम बनाएर अघि बढाउन लागिएको हो ? भन्ने जान्नुपर्छ ।
नेपालको अबस्था हेर्दा नेपाली सेना एउटा गौरवशाली इतिहास बोकेको संस्था हो । यसको दायित्व र भुमिका राष्ट्रको सिमा रक्षा गर्नु, बाइह्या आक्रमणबाट राष्ट्रलाई बचाउनु र दैवी बिपद्का बेला जनताको जनधनको सुरक्षा गर्नु हो भनेर जानिदै आएको । यो भन्दा बाहेक कठपुतली बनेर दाग लाग्ने काममा तम्सनु हुन्न नेपाली सेनाले पनि । आज नेपाली सेनालाई व्यावसायिक र सक्षम बनाउनभन्दा ब्यापारिक बनाउने कोशिस भैरहेको छ । र आफ्नो मूल दायित्व र कर्तव्यबाट विमुख हुने सम्भावना र शंका झल्किएको छ । यसमा सेनाले पनि आफ्ना अधिकार क्षेत्र र दायराभन्दा बाहिर जानुपर्दा एकपटक सोच्नै पर्दछ । त्यसरी ल्याृन चाहँदा उनीहरुभित्रको असली नियत के हुनसक्छ ख्याल राख्नु आबश्यक छ ।
समग्रमा हिजोको सिमित चेतनाको घेरामा बसेको न समाज छ र न दुनियाँ । संसार धेरै परिवर्तित छ र साधन र श्रोत संपन्न छ । तर हाम्रा नेता र ठालुहरुको उहीँ सामान्ती र संकिर्ण सोच भने यथावत रहेको देखिन्छ । पद र पावरको दम्भमा जे गरे पनि हुन्छ भन्ने मानसिकता र सोचले सेवादार र भारदारहरुको कद र हैसियत ननापी जिम्मेवार पदमा भर्ती गर्दा आफ्नो दुर्गन्ध आफैं फैलाइरहेको छ । र दिनानु दिन अलोकप्रिय बन्दै यति धेरै आलोचित भैरहेको छ राजनीतिक क्षेत्र । जसले सामाजिक र आर्थिक क्षेत्र पनि प्रभावित बनेको छ । यदि अझै आँखा खोलेन र भ्रष्टहरुलाई कारबाही गर्ने हिम्मत गरेनौ भने छिट्टै हामीले नसोचेका दिन देखापर्ने छ । उल्टो गन्ती सुरु हुने दिन नआउला भन्न सकिदैन ।
एउटा अति गम्भीर र संबेदनशील बिषयप्रति यी चार बुँदा लेख्न मन लाग्यो । आज ताकि सबैको एकपटक ध्यान जाओस् र सोचियोस । विशेष गरि निम्न केही बँुदाप्रति ध्यानाकर्षण गराउन चाहन्छु ः
१. के यो कोरोनाको हाउगुजीले मानवीय संवेदना, परिवारिक दायित्व र सामाजिक कर्तव्य अनि मर्यादाहरु सबै सबै नै पखालिन, बढारिन लागेको हो त ? जन्मनु र मर्नु संसारमा बिधि र सृष्टिको नियम हो। जो निरन्तर रहने छ। तर त्यही सत्य र यथार्थमा आज यत्रो अन्तर किन ? आज आर्यघाटको किनारमा आफ्नो पतिको, पत्नीको वा परिजनको शब लिएर आकुलव्याकुल भएर अलापबिलाप गरिरहेको ब्यक्ति अनि उसको त्यो क्षणको पीडा प्रति परिवार, आफन्त जन, समाजको कुनै कर्तव्य केही थिएन र रहँदैन ? मानिस यति क्रुर र जिन्दगी प्रती लालायित भैसकेको हो त ? भोलि यो दुर्दशा मेरो परिवारमा पनि घट्न सक्ला र सक्छ भन्ने हेक्काबाट टाढिएको मानिस ? केका लागि परिवार, समाज र आफन्त जो अन्तिम यात्राको दिन पनि काम लाग्दैन भने ? सचेत हुनुपर्छ, सावधानी अपनाउन पर्छ । तर मानिस हुनुको औचित्य नै समाप्त हुन हुन्न र हुन दिनहुन्न ।
२. सरकारले नियम र हुइम जारी गर्दा यी संबेदनशील बिषयमा आफ्नो विवेक र ध्यान पुर्याउनुपर्ने थियो । साथै भैपरीआउने र आउनसक्ने सम्भावित घटनाको लागि वैकल्पिक श्रोत र साधनको तयारी र जोहो गर्नैपर्ने थियो । किनकि हाम्रो लकडाउनको आदेश काल र मृत्युका लागि बाध्यकारी अवस्य हुँदैन र उसले मान्दैन पनि ।
३. देशभर लकडाउन छ । तर मर्नु, जन्मनु जारी छ र रहन्छ । त्यो प्रक्रियालाई ब्यबहारिक ढंगबाट ब्यवस्थापन गर्नका लागि स्थानीय निकाय, जिम्मेवार संघ संस्थादेखि टोल र कमिटीसम्म सामाजिक, सांस्कृतिक तथा परम्पंरागत मर्यादालाई ध्यान राखी श्रोत, साधन र ब्यबस्थापनको तयारी अति आवस्यक छ र त्यसतर्फ ध्यान जान जरुरी छ ।
४. आज भगवानको कृपाले कोरोनाले हुने मृत्यु प्रत्यक्ष देखिएको छैन तापनि नियमित प्रक्रिया जारी छ र रहन्छ । यदि आजै सचेत र सतर्कताका साथ समयमा ध्यानाकर्षण भएन भने भोलि सडक, श्मसानघाट, घर र सार्वजनिक स्थानसमेत दुर्गन्धित हुनसक्छ र मानवीय संवेदना समाप्त हुनेछ । र यस्ता दृश्य र खबरले आधा मानिस त्यसै मर्नेछन र भोलि कार्य र कर्म क्षेत्रबाट पलायन हुनेछ ।
यी अति गम्भीर बिषयहरुमा समयमै सबैको ध्यानाकर्षण होस भन्ने चाहना र उद्देश्यले यो पोस्ट गरेको हँु । यसलाई मैले मेरो नागरिक धर्म ठानेको छु ।


लेखक : राजनीतिक बिश्लेषक हुनुहुन्छ ।

 

 

 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार