काठमाडौँ, असार । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठक बुढानिलकण्ठस्थित देउवाको निवासमा सोमबार दिउँसो ३ बजे बस्ने छ ।
प्रवक्ता प्रकाशसरण महतले सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सोमबार दिउँसो बैठक बोलाएको बताए ।
'सभापतिजीले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाउनुभएको छ । हाम्रो पार्टीको आन्तरिक विषयहरुमाथि छलफलका लागि बैठक बोलाइएको हो,' प्रवक्ता महतले सञ्चारकर्मीसँग भने, अरु राजनीतिक विषयहरुमा पनि छलफल होला ।'
सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेका थिए ।
उक्त छलफल कुनै राजनीतिक फेरबदलका लागि हो कि भन्ने आशंका भइरहेका बेला कांग्रेसको पदाधिकारी बैठक बस्ने लागेको हो ।
एमाले र माओवादीको सत्ता सहयात्रामा केही चिसोपन आइरहेका बेलाले शनिबार देउवा र ओलीले लामो संवाद गरेका थिए ।
त्यसपछि आइतबार अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सिंहदरबारमा छलफल भएको छ ।