२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

खोजी हुँदै आशाको दियो

बिपीको मान्यता : “गाउँको विकास नै मुलुकको विकास ”

'विकास भनेको बाटाघाटा वा गगनचुम्बी महलहरू मात्रै होइन , आमजनताको सन्तुष्टि र महसुस हो '

सोमवार , जेठ २१, २०८१

"रेक नेपालीको घरमा एक हल गोरु, दुहुनो गाई अनि गरिखान पुग्ने जमिन, औषधीमूलो गर्न र सन्तानलाई शिक्षा दिन सक्ने अवस्था होस्; त्यो बेला बिपी कोइराला सधैँ भन्नुहुन्थ्यो, हलो जोतिरहेको तस्बिर दिलमा राखेर सरकारका योजनाहरू कोर्नु ।"

 

बिपीले बनाएको समाजवादको यो विम्ब त अब धुलोमैलो लागेर पुरानो भइसकेको छ । उहाँले देख्नुभएको गाउँको विकासको सपना पनि विकासको त्यही बतासमा बतासिइरहेको छ । नेपाल भनेकै गाउँ हो । नेपालको विकास भन्नु नै गाउँको विकास गर्नु हो। झुपडी, गाउँ र बस्तीबाट विकासको शङ्खनाद आफ्नै पाखुराले आफ्नै माटोमा प्रारम्भ गर्नु पर्छ बिपीको मान्यता थियो कि गाउँको विकास नै मुलुकको सर्वाङ्गिण विकास हो । पछि कम्युनिस्ट सरकारले त्यसैलाई अलिकति बदलेर आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने अभियान चलायो ।

समाजवादसम्म पुग्ने लक्ष्यका हरेक बाटाहरू बिपीले गाउँकै माटोमा कोर्न चाहनुभएको थियो । उहाँले भने जस्तै आज गाउँगाउँमा विकास पुगेको छ । त्यो मात्रै डोजरे विकास भएको थियो । विकास भनेको बाटाघाटा वा गगनचुम्बी महलहरू ठडिनु मात्रै होइन । विकास भनेको आमजनताको सन्तुष्टि र महसुस हो । अर्थात् नागरिकले हरपल फेर्ने सन्तुष्टिको सास नै समृद्धिको एउटा मुख्य सूचक हो समाजवादको विम्ब बनाएको त्यो युग बिपीले बाँचेको समय थियो । जतिबेला गाउँ भरिभराउ थिए ।

देशको कुल जनसङ्ख्यामा गनिएका मान्छेमध्ये ९६ प्रतिशत मानिस गाउँमै थिए । त्यसैले गाउँ नै सबथोक थियो । हिजो गाउँमा केही थिएन तर सब थियो । आज गाउँमा सबथोक छ तर गाउँमा कोही छैनन् । अझ भोलिका दिनमा गाउँमा कोही पनि हुने छैनन् । यो तथ्यलाई हामीले बेवास्ता गर्दै गयौँ भने देशको भविष्य रित्तो रित्तो हुने छ । गाउँ रित्ता छन् । पहाडहरू निख्रिएका छन् । गाउँको त्यो उर्बर भूमि अब जर्जर भइसकेको छ । कङ्क्रिटले भरिएको निर्जीव सहरमा आज पनि अनुत्पादक दिमागहरूले भरिएका छन् । गाउँ आज निष्प्राण छ ।

बसाइँसराइ गरेर गाउँ आउनेहरूलाई अहिले स्थानीय सरकारले पुरस्कार अनि सम्मान गरिरहेका छन् । अर्थात् गाउँमा आउन उनीहरूले प्रोत्साहित गरिरहेका छन् । गाउँ आउने बाटो त बनेका छन् तर ती बाटामा हिँड्ने पाइलाहरू नै अब छैनन् । हल गोरु पाल्नेहरूलाई आज स्थानीय सरकारहरूले अनुदान दिइरहेका छन् । यस अर्थमा पनि बिपीले बनाएको त्यो विम्ब मा धुलो भरिएको नै किन नहोस् तर त्यो आज पनि उत्तिकै जीवितै छ ।

बिपीको त्यो दूरअन्दाज थियो । अर्थात् एउटा दूरदर्शी राजनेताले आफू बाँचेको मात्रै समयको विश्लेषण गर्दैन आफ्ना कैयौँ पुस्ताको भविष्यलाई ख्याल गरेर उसले आफ्ना राजनीतिक आदर्श अनि नीतिहरूको रेखा कोर्छ । देशको व्यवस्था परिवर्तनका कैयौँ पुस्ताले आफ्नो सारा जीवनमा क्रान्ति, सङ्घर्ष अनि लडाइँमै बितायो ।

हिजो राणा शासन अनि पञ्चायती शासन हुँदै राजतन्त्रको विरासत मेटाएर हामी गणतन्त्रमा बाँचेको पनि १६ वर्ष पुगिसकेको छ । यो एउटा पुस्ताको भविष्य रेखा कोरिने सबैभन्दा मलिलो समय पनि हो । हामीले के गयौँ ? हामीले हुर्काइरहेको अनि आउने पुस्ताका लागि यो बिचमा हामीले गयौँ रु यसको निर्मम समीक्षा गर्न अब धेरै अबेला भइसकेको छ तर पनि सच्चिने अनि सच्याउने समय र ठाउँहरू प्रशस्तै छन् । यसमा अब देशको राजनीति र शासनसत्ता हाँकिरहेको नेतृत्वले सोच्नुपर्ने भएको छ । दुःखको कुरा सोचिएकै छैन । राणा शासन निरङ्कुश थियो । त्योसँग हामी लड्यौँ र फाल्यौँ ।

राजा अनि आमनागरिकको अधिकार फिर्ता ल्यायौँ । राजालाई संविधानभन्दा अलि माथि नै राख्यौँ, त्यसैले राजाले फेरि त्यही संविधान मास्ने काम गरे । फेरि हामीले ३० वर्षसम्म पञ्चायतसँग लड्नु पयो । पञ्चायतपछिको उदार प्रजातन्त्रका एक दशक पनि हामीले त्यसमा अभ्यास गर्न पाएनौँ । त्यसपछि फेरि १० वर्ष माओवादीको द्वन्द्वले देशलाई चारैतिरबाट खलबल्याइदियो । माओवादीलाई राजनीतिको मूलबाटोमा ल्याएसँगै बदलिएको राजनीतिक व्यवस्था अर्थात् गणतन्त्रमा बाँचेको पनि डेढ दशक नाघिसकेको छ ।

अहिलेसम्म पनि हामीले हाम्रो तन्नेरी पुस्तामा गडेको एउटा भाष्य फेर्न सकेका छैनौँ यो देशमा केही छैन । आज करोडौँ नागरिकले आफ्नो सन्तानको पहिलो विद्यालय छनोट गर्दा नै त्यसको इन्टरनेसनल स्कोपका बारेमा बुझ्न खोज्छ । यसको अर्थ हाम्रा सन्ततिको कलिलो मस्तिष्कमै हामीले यो देशमा केही छैन भन्ने भाष्य रोपिदिएका छौँ । तन्नेरी भएर त्यो छिप्पिँदै जाँदा तन्नेरी पुस्ताले देश छोडिसकेका हुन् । आज हामीले बाँचेको समाज यही हो । अनि हाम्रो नेतृत्वले बनाएको समाजको रूप पनि यही नै हो । फुल्दै गरेका प्रजातन्त्रका कोपिलाहरू कोपिलामै मासिएका छन् । एक पटक होइन धेरै पटक । एउटाको अभ्यास पूरा भएकै हुँदैन । त्यसैमा निराशा छाउँछ अनि फेरि हामी व्यवस्थाविरुद्ध लड्न थाल्छौँ । त्यसलाई कहिल्यै कसरी सुधार्ने भनेर सोच्दैनौँ ।

हाम्रो नेतृत्वले त्यो शासन व्यवस्थामा नागरिकको जीवनमा परिवर्तन ल्याउनका लागि के गयो अनि के गर्नु पर्छ भनेर कहिल्यै सोचेन । हामीले हाम्रो पुस्तामा हुर्काइरहेको निराशाको बीज पनि यही नै हो । राणाकालदेखि गणतन्त्रसम्म हामीले बाँचेको युगीन पानाहरू अलिकति पल्टायौँ भने हामीले त्यहाँ पाउँछौँ जहाँ हाम्रो अघिल्लो पुस्ताको सारा जीवन यिनै शासकसँगको लडाइँमा बितेको छ । यसरी हामीले शासक फेयौँ, शासन व्यवस्था फेयौँ तर नागरिकको जीवनस्तर र उनीहरूको अवस्था हामीले फेर्न सकेका छैनौँ ।

राजनीतिले समाजलाई निर्देश गर्ने कि समाजले राजनीतिलाई निर्देश गर्ने भन्ने राजनीतिक मान्यतामा अहिलेसम्म पनि विश्वव्यापी बहस उस्तै छ । बुझ्नुपर्ने र हामीले देख्दै आएको कुरा के हो भने जहाँको समाज समृद्ध छ, त्यहाँ समाजले राजनीतिको दिशा निर्देश गर्छ । हाम्रो जस्तो विकासको बाटोमा फटफटाइरहेको देशमा भने राजनीतिले नै समाजलाई निर्देश गरिरहेको हुन्छ । यो घाम जस्तै छर्लङ्ग भएको सत्य हो ।

आज हामीले सूक्ष्म रूपमा हेयौँ भने हाम्रो राजनीति जस्तो छ समाज पनि त्यस्तै छ । अर्थात् राजनीतिले जे पैदा गरिरहेको छ नागरिकले बाँचिरहेको जिन्दगीको भाव पनि त्यही हो निराश, निरश अनि निर्विकल्प । प्रजातन्त्रको खुला अभ्यास अनि विकासको भयाङ चढ्दै गरेको देशमा यस्ता निराशा र नैराश्य भाष्यहरू विकसित हुनु अनि स्थापित हुनु कुनै ठुलो कुरा होइन तर त्यो लम्बिँदै गयो र हट्ने सङ्केत नै देखिएन भने त्यो समय भनेको सिङ्गो देशकै भविष्यका लागि खतरा हुन सक्छ । तसर्थ हाम्रो राजनीतिक नेतृत्वले अब यो दिशामा पनि सोच्नुपर्ने जरुरी भइसकेको छ । आजको थोरै विलम्ब भोलिका दिनमा निकै भारी पर्न सक्छ ।

राजनीतिक नेतृत्व आफ्नै लागि अनि सिङ्गो देश र नागरिकका लागि पनि । नागरिकमा देखिएको यो निराशाका पछाडि खासै ठुला विषय छैन । नागरिकलाई पनि खासै ठुला कुरा केही चाहिएको छैन । एउटा नागरिकले आफू र आफ्नो पुस्ताको भविष्यको ससाना सम्भावनाहरू देखे मात्रै पनि हाम्रो निराशा त्यसै त्यसै कम हुँदै जान्छ । त्यो भनेको एउटा नागरिक जीवनका सामान्य अभाव कसरी पूर्ति गर्ने भन्ने मात्रै चिन्ता हो ।

हरेक नागरिकलाई उसको क्षमता अनुसारको काम र माम अनि श्रम अनुसारको मूल्य मात्रै भए पनि तन्नेरी पुस्ता भविष्य खोज्न आफ्ना सबथोक छोडेर हिँड्दैन । नेतृत्वले यस्ता सामान्य तर एउटा नागरिकको जिन्दगीमा असामान् मूल्य स्थापित गर्ने खालका सोच र नीतिहरू कार्यान्वयन नगरेसम्म हामीले भोग्नुपर्ने नियति यही हुने छ । विश्व आज शान्त छैन । ब्रह्माण्डका हरेक धु्रवका देशहरू आपसमा जुधिरहेका छन् । भिडिरहेका छन् । यो सिङ्गो ब्रह्माण्ड एकअर्कामा यसरी गाँसिएको छ कि कुनै एक धु्रवको तनावका बाछिटाहरू अनेक रूपमा तुरन्त अर्को धु्रवमा पुगिहाल्छन् ।

लडाइँले खलबल्याइरहेको विश्वका कैयौँ राष्ट्र आर्थिक मन्दीको मारमा छन् । कतै राजनीतिक अस्थिरता छ । कतै प्राकृतिक अनि दैवीय प्रकोपले पिरोलिरहेको छ । कतै बाढीले डुबाएको छ । कतै पहिराले पुरेको छ । कतै सागर उर्लिएर सारा जीवन अस्तव्यवस्त बनाइदिएको छ । कतै सगर गड्किएर उस्तै भयङ्कर प्रलयसँग धरती जुधिरहेको छ ।

-गाेरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार