२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कविता : माकुरो र झुसिलकिराको जन्मदिन

सोमवार , चैत्र १०, २०७६

 

सेता अँगार र काला असिना
हाम्रै आँखामा देखिन्छन् सपना
झर्छन्, बिलाउँछन्
हामै्र माटोमा उम्रन्छन्
सत्य, असत्यका श्रीखण्ड
झुसिलकिरा, लार्भा र पुतलीको जन्मोत्सवमा

सत्यलाई असत्य बनाउने कला
अथवा,
असत्यलाई सत्य बनाउने शीप
क्या सुन्दर छ माकुराको जालो
बुनेर तानभरि कपडा
नाङ्गै मर्छ माकुरो
आफ्नै तानमा सेरिएर
विवेकको शासन चल्दैन उसको खोरियामा
कसले गाइदिने माकुरोको जन्मगीत

पातमुनि लुक्ने झुसिलकिरो
पातमुनि लुक्ने झुसिलकिराहरू
पात चपाइ सकेर
सुरक्षाको छाता ओढ्छन्
सेता अँगार र काला असिना
उनको सपना होइनन्
पात खाएर सीमाना डकार्छन् भुसिलकिराहरू
मृत माकुरोमा व्यङ्ग्य भरेर–
गाइदिन्छन् जन्मगीतका राग

उपियाँले श्रीपेचमा
श्रीपेचले उपियाँमा
लेखेका काव्यहरू
दशगजामा एक पागलले सुसेली हाल्छ
मसँग राज्य छ, श्रीपेच मसँगै छ
‘आइ एम द स्टेट’
बाँसुरीमा आगोको गीत सुन्नुपूर्व
निरोको टाउकोमा थियो श्रीपेच
निरो कि, श्रीपेच कसले मनाए जन्मदिन

फर्सीभित्र फर्सी बाहिर
सनातन राज्यमा
असङ्ख्य जीवले मनाउँछन् जन्मदिन
सोझो औंलोले देखाउन हुन्न फर्सी
कुहिन्छ, कुहिन्छ
फर्सीभित्रको जन्मदिन कति किलोमा तिमीलाई जोखौँ ?
बादल बाहिरको जन्मदिनमा तिमीलाई कति किलोमा जोखौँ ?

फर्सीको बोट नजिक
बादलमुनि आकाशको छेलपरेर
सिमानामा गाउने कविलाई
पागल घोषणा गरिदेऊ
सत्तासिन्धु, निर्णयसिन्धु वा धर्मसिन्धु
पात चपाउने झुसिलकिरो
पात चपाउने झुसिलकिराहरू
सत्तासिन्धुको नयाँ भाष्यमा
चपाइसकेर पात मृत माकुरोलाई धिक्कार गर्छन्
आज तेरो जन्मदिन !

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार