काठमाडौँ, मंसिर । एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन् ।
सात आठ जनाको समूहमा रहेकाहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सांसद भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो । सिसाहरु छरपस्ट भए पनि मान्छे भने कोही घाइते भएको छैन । सांसद भट्टराई भने भागेर बचेका थिए । उनलाई एमाले कार्यकर्ताले भगाएको एमाले ताप्लेजुगले जनाएको छ ।
यसअघि एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडप भएको थियो । उनीहरुले भट्टराईको निवास अगाडि नारा तथा प्रदर्शन गर्दै ताप्लेजुंग नआउन धम्काएको जनाइएको छ । पहिचान पक्षधर कार्यकर्ताले नारा लगाउँदै भने, भ्रष्ट एमाले तथा योगेश मुर्दाबादको नारा लगाएको जनाइएको छ ।
दसैं, तिहार, छठ, नेपाल सम्वत् जस्ता चाडपर्वको अवसरमा भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरु उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले चियापान कार्यक्रम आयोजना गरेका थिए ।
दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा भएको चियापान सकेर फर्कने क्रममा आक्रमण भएको खतिवडाले बताएका छन् ।
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ ।
यसअघि एमालेकै प्रदेश सांसद मेन्याङ्बो, माओवादीका इन्द्र आङ्बो लगायतका नेतामाथि यही क्षेत्रमा आक्रमण गरिएको थियो ।