२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नायक पूर्णविक्रम (पल) शाह आज कारागारमुक्त

सोमवार , फाल्गुण १५, २०७९

दमौली,फागुन। जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाह आज कारागारमुक्त हुनुभएको छ । जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेपछि फागुन १५ गते आफैँ प्रहरीसमक्ष उपस्थित भएका नायक शाह आज अदालतको फैसलाबमोजिम रिहा हुनुभएको हो ।

नवलपुर अदालतले बाल यौन दुराचारको मुद्दामा साढे दुई वर्ष कैद र रु १० लाख जरिवानाको फैसला सुनाएकामा उच्च अदालतको आइतबारको फैसलाबमोजिम शाहले सफाइ पाउनुभएको उहाँका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो ।

नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिनुभएको थियो । उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाहलाई कारागारमुक्त गरिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।

रिहा गर्नु अगाडि शाहको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । शाह रिहा हुने खबर पाएलगत्तै कारागार अगाडि बिहानैदेखि शुभेच्छुकको भीड रहेको थियो । नाबालिक जबर्जस्ती करणीको अभियोगमा कारागारमा थुनामा रहेका नायक शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो ।

नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध तनहुँ र नवलपुर प्रहरीमा उजुरी परेको थियो । शाहलाई गत वर्ष चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार