२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

लुम्बिनी प्रदेश

राष्ट्रिय सभा उपनिर्वाचन : " कांग्रेस, एमाले र उन्मुक्तिको उम्मेदवारी "

बुधवार , माघ ११, २०७९


दाङ, माघ ।  राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत एमाले, कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । एमालेका कुमार दशौंदी, कांग्रेसका माधवप्रसाद आचार्य र उन्मुक्तिका राजेन्द्रबीर रायको उम्मेदवारी दर्ता भएको हो । 
सत्ता गठबन्धनका तर्फबाट दशौंदीको उम्मेदवारी दर्ता भए पनि उन्मुक्तिले छुट्टै उम्मेदवारी दिएको छ । उम्मेदवारी दर्ता गराउन उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि घोराहीस्थित निर्वाचन कार्यालय पुगेकी थिइन् । 
सरकारलाई समर्थन गरे पनि सत्ता साझेदार गठबन्धनमा नभएको उनले बताइन् । न्यायको मुद्दा सुनुवाइ नहुँदासम्म गठबन्धनभित्र रहन नसक्ने उनले बताइन् ।
दशौंदीको उम्मेदवारी दर्ताका लागि एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलगायत नेता निर्वाचन कार्यालय पुगेका थिए । एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।

माघ १२ गते १० देखि ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने र माघ १३ गते १० बजेदेखि १४ गते ३ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी ४ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले  सञ्चारकर्मीलाई  जानकारी दिएका छन । 
माघ १५ गते १० देखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, माघ १६ गते १० देखि १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १२ देखि ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।  माघ २५ गते १० देखि ३ बजेसम्म घोराहीमा मतदान गर्ने कार्यतालिका रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार