२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नयाँ सरकार निर्माण बहस

देउवालाई विश्वप्रकाशले आग्रह गर्दै भने :" संसदीय दलको नेताको दाबी छाड्नुुस्"

बुधवार , मंसिर २१, २०७९


काठमाडौँ, मंसिर । नयाँ सरकार निर्माण चरणमा प्रबेश गरेका बेला नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताको दाबी छोड्न आग्रह गरेका छन् । उनले भने, संसदीय दलको नेताको दौडबाट बाहिरिए पार्टी पंक्तिमा देउवाप्रतिको सम्मान बढेर जान्छ ।
उनले थपे, कांग्रेसमा अबको नेतृत्व उमेरले नभई एजेण्डाले गर्नुपर्छ,  एजेण्डा युवा पुस्तामा छ । त्यसैले अब पार्टी सभापति देउवालाई सम्मानजनक रुपमा आफूलाई संसदीय दलको प्रतिस्पर्धाबाट बाहिर राख्नुस । 
झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित शर्माले बुधबार बिर्तामोडमा प्रेस युनियन झापाको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । सो कार्यक्रमका अवसरमा उनले भने,  ‘पार्टी सभापतिले अब पनि प्रतिस्पर्धामा जुट्नुभन्दा सबैलाई अवसर दिने काममा लाग्नुपर्छ । 
उनले थपे, पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ,  अब फेरि म प्रधानमन्त्री हुन्छु भन्नुभन्दा पार्टीका अन्य नेतालाई पनि अवसर दिनुपर्छ भन्नेतिर लाग्नुभयो भने उहाँप्रतिको सम्मान दोब्बर भएर जान्छ । त्यसैले उनले पद लिनेभन्दा आफूप्रतिको सम्मान दोब्बर बनाउनेतिर लाग्नुपर्छ ।  यो सुझाव उहाँलाई काठमाडौंमा भेटेरै पनि म दिन्छु । ’   

शर्माले संसदीय दलको नेता अर्का महामन्त्री गगन थापालाई बनाउनुपर्ने पनि प्रस्ताव गरेका छन् । उनले थापालाई दलको नेता बनाउने गृहकार्यमा आफू लागिसकेको समेत बताए । ‘संसदीय दलको नेता गगनजीलाई बनाउनुपर्छ भन्ने मेरो प्रस्ताव छ । यसका लागि सिनियर नेताहरूसँग पनि छलफलहरू भइरहेका छन् ।
गगनजी संसदीय दलको नेता हुनुभयो भने देशमा एउटा नयाँ तरंग आउँछ,’ उनले भने,‘त्यसपछि मात्र मैले भनेजस्तो राजनीतिक होइन राजनीतिमा परिवर्तन गर्न सकिन्छ ।’
तर अब बन्ने सरकार कांग्रेस नेतृत्वमै हुनुपर्ने उनको धारणा थियो । यस्तै, अब बन्ने गठबन्धन सरकार नै पाँच वर्षसम्म स्थिर रहनुपर्ने उनको भनाइ छ । ‘पार्टी घोषणापत्र लेख्दा जसरी पाँच वर्षसम्म स्थिर सरकार चलाउँछौं भनी उल्लेख गरेका छौं । त्यसका लागि पनि वर्तमान गठबन्धन एकढिक्का हुन जरुरी छ । त्यसैले अब कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरै छैन । स्पष्ट छ कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बन्छ,’ शर्माले भने ।

शर्माले तत्काल बन्ने सरकारमा आफू भने सहभागी नहुने बताएका छन् । उनले समय आएपछि सरकारमा जाने बाटो खुला भए पनि तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउने र उक्त सरकारलाई पाँच वर्षसम्म स्थिर हुने वातावरण बनाउनेतर्फ आफू लागिरहेको बताए ।
उनले भने, ‘तत्काल बन्ने सरकारमा म मन्त्री भएर जान्नँ । मेरो अहिलेको प्राथमिकता भनेको मन्त्री बन्ने भन्दा पनि कांग्रेस नेतृत्वमा सरकार बनाउने र उक्त सरकारलाई पाँच वर्षसम्म स्थिर बनाउने काममा खटिनु हो ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार