चितवन, कात्तिक । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले धेरै दुस्ख र मिहिनेतपछि वाम- लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन । उनीहरुले भने, 'यो गठबन्धन आउँदो समयमा पनि कायमै राख्छौ ।'
शनिबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने, 'आउँदा दुई - तीनवटा चुनावसम्म गठबन्धन रहन्छ ।'
सभापति देउवाले भने, 'केपी शर्मा ओली सत्तामा रहँदा संविधानलाई खेलौना ठाने, धेरै ठूलो संघर्षपछि प्राप्त यो लोकतान्त्रिक पद्धतिमाथि पनि संकट आएकाले गठबन्धन आवश्यक देखियो । ‘लडाइँ गरेर ल्याएको गणतन्त्र, संघीयता र राष्ट्रिय एकता जोगाउन आवश्यक छ । त्यसको लागि गठबनधन बनेको हो । अझै लामो समय गठबन्धन चाहिन्छ,’ देउवाले थपे ।
सो कार्यक्रमका अवसरमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनैतिक दुर्घटना र प्रतिगमनको खतरा रहने बेलासम्म गठबनधन कायम राख्ने बताए । उनले आउँदो चुनावबाट गठबन्धनको कम्फर्टेबल बहुमत आउने दाबी गरे ।
कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फुकुकाको माग गर्दै सभामा प्रदर्शन र नाराबाजीमा उत्रेका कोइराला समर्थकतर्फ हेर्दै देउवाले भने, ‘पहिला यहाँका उम्मेदवारहरुलाई चुनाव जिताउनुस् । जिताएको भोलिपल्टै कारबाही फुकुवा हुन्छ ।’
प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र र प्रदेशका ६ निर्वाचन क्षेत्र रहेको चितवनमा दुईवटा संघीय निर्वाचन क्षेत्रमा कांग्रेस र एउटामा माओवादी केन्द्रका उम्मेदवार छन् ।
त्यसैगरी, प्रदेशसभामा तीन वटामा कांग्रेसका, दुईवटामा माओवादी केन्द्रका र एउटामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार छन् । एमालेले दुईवटा संघीय क्षेत्रमा र सबै प्रदेश क्षेत्रमा उम्मेदवार उठाएको छ ।