एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान खारेज गरेर शानस सत्ता हातमा लिनेविरुद्ध गठबन्धन बनेको बताएका छन् । उनले अप्ठ्यारो परिस्थितिमा बनेको गठबन्धनलाई विजयी गर्नतिर लाग्न गठबन्धन दलका नेता र कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।
लोकतान्त्रिक–वाम गठबन्धनले विराटनगरमा शनिबार आयोजना गरेको प्रदेशस्तरीय सत्तारुढ गठबन्धन दलका नेता तथा कार्यकर्ताको भेलामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले चुनावसम्म आपसी गुनासो बिर्सिन आग्रह गरेका थिए ।
‘संविधान खारेज गरेर एकलौटी शासन हातमा लिनेविरुद्ध हामीले अप्ठयारो परिस्थितिमा लिएको निर्णयले अहिलेको गठबन्धन भएको बिर्सिनु हुँदैन, नेपालले भने ।
गठबन्धन दलमा आबद्ध प्रदेश १ का नेता र कार्यकर्ताहरूमा आफूले उत्साह नपाएको नेपालको गुनासो थियो । प्रदेश १ मा गठबन्धन दलका नेता तथा कार्यकर्ताहरूमा उत्साह कम हुनुको कारण भोको पेट भएर कि मन कुँढिएर भन्ने उनको प्रश्न थियो ।
नेपालले हरेक गुनासा चुनावसम्म बिर्सिएर गठबन्धनलाई विजय गराउन नेता तथा कार्यकर्तालाई आह्वान गरेका थिए । ‘समाज र जनताको समस्या राजनीति ठीक ढंगले अगाडि बढे मात्रै सम्बोधन हुन्छ,’ उनले भने ।
गठबन्धन केन्द्रमा मात्रै गरेर सफल नहुने भएकाले तल्लो तहसम्म त्यही अनुसारको विचार र भावनाको विकास गराउनु आवश्यक भएको उनले बताए ।
मधेसी, दलित, मुस्लिम, अल्पसंख्यक, आदिवासी जनजाति, पिछडिएका वर्गलगायत आम नेपालीलाई सुखी बनाउने लक्ष्य पूरा गर्न गठबन्धनको पक्षमा मतदान गर्न नेपालले आह्वान गरे ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुदल आएपछि केही भएन र सबै बर्बाद भएको भन्नेले हिजोसम्म भारी बोकेर जानेहरू अहिले मोटरगाडीमा गाउँ पुगेको हेर्न नसकेको रहस्य सबैलाई बुझ्न आग्रह गरे ।
उनले प्राप्त उपलब्धीलाई नारायणहिटी पुर्याउनेहरूबाट सजग र सचेत भई नेपाल, अर्थतन्त्र र जनतालाई बलियो बनाउने लक्ष्य पूरा गर्न गठबन्धनलाई जिताउन आह्वान गरे ।
कार्यक्रममा कांग्रेसका नेता शेखर कोइराला र कृष्णप्रसाद सिटौलाले पनि सत्तारुढ गठबन्धनको औचित्य सार्थक रहेको बताएका थिए ।