२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सत्ता गठबन्धन दल प्रदेश भेला

अध्यक्ष दाहालले भने : 'विकास र राजनीतिक परिवर्तनको औचित्य सिद्ध गर्न गठबन्धन' 

'गोरुगाडावाला नेता गणतन्त्र, संघीयता, समावेशितालगायतका प्राप्त उपलब्धि खारेज गर्न लागिपरेका छन्’ 

शनिवार , कार्तिक ५, २०७९

मुलुकको विकासका लागि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  बताएका छन् । उनले मुलुकमा प्राप्त राजनीतिक परिवर्तन रक्षा गर्न र संविधान कार्यान्वयन गर्न पनि गठबन्धन बनेको भन्दै दलका नेताहरूबीचका विमती थाती राखेर अघि बढ्न आग्रह गरेका थिए । 

लोकतान्त्रिक–वाम गठबन्धनले विराटनगरमा शनिबार आयोजना गरेको प्रदेशस्तरीय सत्तारुढ गठबन्धन दलका नेता तथा कार्यकर्ताको भेलामा दाहालले विशिष्ट परिस्थितिमा राजनीतिक दलहरू एक ठाउँमा आउनुपरेको बताए ।
‘मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन गर्‍यौं तर जनताको आर्थिक अवस्था र सुशासनमा परिवर्तन नआएकाले अहिलेसम्मको प्राप्त उपलब्धि जोखिममा छ,’ उनले भने, ‘तीव्र आर्थिक विकास, सामाजिक न्याय, समानताको अधिकार प्राप्ति र राजनीतिक परिवर्तनको औचित्य सिद्ध गर्न गठबन्धन गरेर अघि बढेका छौँ ।’ 
गठबन्धन राजनीतिक अभियान भएको भन्दै दाहालले गठबन्धन गर्दा अन्यायमा परेको अनुभूति गरेका नेताहरूलाई न्याय हुने प्रतिबद्धता व्यक्त गरे । उनले सबै दलका स्थानीय नेताहरूलाई एकजुट भएर गठबन्धनको पक्षमा अगाडि बढ्न आग्रह गरेका थिए ।

मुलुकको विशिष्ट परिस्थितिमा लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधान जोगाउन पवित्र र प्राकृतिक गठबन्धन भएको दाहालको भनाइ थियो । उनले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको निरन्तरतामा अहिलेको चुनावी गठबन्धन भएको तर्क गरेका थिए ।
 ‘मुलुकको दिगो शान्तिका लागि विस्तृत शान्ति सम्झौता भइरहेको बेला नेपालमा गणतन्त्र आउनु र गोरुगाडामा अमेरिका पुग्नु उस्ता उस्तै भन्ने नेताहरू पनि थिए,’ उनले भने, ‘तर मुलुकमा गणतन्त्र आएको गोरुगाडावाला नेताले पनि हेर्नुभयो । त्यसैले गोरुगाडावाला नेता गणतन्त्र, संघीयता, समावेशितालगायत प्राप्त उपलब्धि खारेज गर्न लागि परेका छन् ।’

दाहालले एमाले अध्यक्ष ओलीलाई लक्षित गरी मंसिर ४ गतेको निर्वाचन सामान्य नभई गोरुगाडावालाको प्रतिगमन र गठबन्धन दलको अग्रगमनबीचको संग्राम भएको बताए ।

‘यो गठबन्धन नभएको भए देउवाजी प्रधानमन्त्री र स्थानीय तहको चुनावमा कांग्रेसलाई यो लाभ हुँदैन थियो,’ उनले कार्यकर्ताहरूलाई आग्रह गरे, ‘गठबन्धन नभएको भए देशमा डरलाग्दो अवस्था पनि निर्माण भइसकेको हुने थियो त्यसैले आपसमा केही नमिलेको भए पनि चुनावसम्मलाई थाति राखेर सबैले गठबन्धनलाई जिताउनु होला ।’
कांग्रेसका नेता तथा कार्यकर्ता र समर्थकलाई माओवादीको चुनाव चिह्न , हँसिया हथौडा र एकीकृत समाजवादीको चुनाव चिह्न कलमुमा मतदान गर्न अप्ठ्यारो नमान्न उनले आग्रह गरेका थिए । 
त्यस्तै माओवादी र एकीकृत समाजवादीका नेता, कार्यकर्ता र समर्थकलाई कांग्रेसको चुनाव चिह्न रुखमा मतदान गर्न अप्ठ्यारो मान्न नहुने उनले बताए । ‍
‘विस्तृत शान्ति सम्झौता भएपछि गिरिजाबाबुले हँसिया हथौडामा र मैले रुखमा भोट हालिसकेकोले त्यसको रहस्य र गम्भीरता बुझौं र गठबन्धनमा सबैले भोट हालौं,’ उनले आग्रह गरे, ‘होइन भने देशमा डरलाग्दो अवस्था आउने छ ।
 त्यसैले हामी केन्द्रमा एक छौँ र तपाईंहरू पनि प्रदेशभरि एक भएर अगाडि बढनुहोस् ।’ यो निर्वाचनमा टिकट नपाएका नेताहरूलाई अवसर नै अवसर हुने दाहालको भनाइ थियो ।
संवैधानिक नियुक्ति, राजदूतलगायतका नियुक्तिमा अनेकौं अवसर आउने भएकाले एकजुट भएर अगाडि बढन उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार