२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा माओवादी केन्द्र बैठक

२१ सदस्यीय पदाधिकारी चयन : 'महासचिवमा देव गुरुङ, वरिष्ठ उपाध्यक्ष नारायणकाजी बने' 

शनिवार , भाद्र ४, २०७९

काठमाडौँ, भदौ ।  

नेकपा माओवादी केन्द्रले शनिबार २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको छ ।पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकबाट अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत पारित भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । २१ सदस्यीय पदाधिकारीमा महिला एक जना मात्रै परेकी छन् ।
महासचिवमा देव गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन् । यस्तै उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहेका छन् ।

सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम पारित भएको छ । यस्तै, कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाइएको छ ।
विशेष महाधिवेशनसम्मका लागि मात्रै पदाधिकारीलाई पूर्णता दिइएको उपाध्यक्ष कृष्णबहादुर महराले  सञ्चारकर्मीलाई जानकारी दिएका छन ।  
विशेष महाधिवेशन कहिले  हुन्छ  भन्नेबारे तिथी यकिन नभएको उनको भनाइ छ । महाधिवेशन सकिएपछिको पहिलो केन्द्रीय कमिटीको अपुरो बैठकबाट दाहाल अध्यक्षमा चयन भएका थिए ।

महासचिवका दावेदार रहेका जनार्दन शर्माले भने पदाधिकारी चयनप्रति असन्तुष्टि जनाएका छन् । माओवादीका एक नेताका अनुसार नेता शर्माले आफू यो प्रक्रियामा असहमत रहेको बताएका छन् ।

तर शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले प्रस्ताव गरेको नाममा कसैको असहमति भए पनि निर्णय मानेर जाने समझदारी बनेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार