जनकपुरधाम, साउन ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरताबिना आथिक विकास सम्भव नभएको बताएका छन । समाजवादी युवा सङ्घको जनकपुरधाममा आजदेखि सुरु भएको राष्ट्रिय युवा भेलाको उद्घाटन गर्दै अध्यक्ष यादवले मुलुक समृद्ध बनाउनका लागि आर्थिक विकासमा जोड दिनुपर्ने बताएका छन ।
युवालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता राज्यले गर्न सके मुलुकमा छिट्टै विकास र समृद्धि कायम हुने उनको भनाइ थियो । “युवालाई सही ढङ्गबाट परिचालन गर्न नसकेकै कारण मुलुक पछाडि परेको हो”, अध्यक्ष यादवले भने ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले युवाको नेतृत्व विकास र रोजगारी सुनिश्चितता गर्न प्रदेश सरकारले युवा नीति बनाएर अघि बढेको बताएका छन । युवा शक्ति नै मुलुकको भविष्य भएकाले उनीहरुलाई विकास र प्रविधिसँग जोड्न चाहेको उनले उल्लेख गरे ।
कार्यक्रममा जसपाका नेता तथा जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख लालकिशोर साह, सपाका नेता तथा प्रदेशसभा सदस्य रामअशिष यादव, समाजवादी महिला सङ्घका केन्द्रीय अध्यक्ष निर्मला यादवलगायतले आफ्नो धारणा राख्नुभएको थियो । बुधबारसम्म भेलाले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।