काठमाडौँ, साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता गठबन्धनमा सामेल हुन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्ताव राखेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न आइतबार बालुवाटार पुगेका लोसपाका शीर्ष नेतालाई उक्त प्रस्ताव राखिएको वरिष्ठ नेता राजेन्द्र महतोले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
नेता महतोले आफूहरुले पनि बाँकी माग पूरा भए गठबन्धनमा बस्ने बताएका जानकारी दिए । नेता महतोले भने, गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीजीले प्रस्ताव गरे, हाम्रा माग पूरा हुन्छ भने लोसपा गठबन्धन वा चुनावी तालमेलका लागि सकारात्मक छ । लोसपाले तराईका नागरिकको नागरिकताको समस्या समाधान गर्नुपर्ने, विभिन्न आन्दोलनका क्रममा झुट्टा मुद्दा लागेका कार्यकर्तालाई रिहा गर्नुपर्नेलगायतका माग राख्दै आएको छ । ती मागमध्ये नागरिकता विधेयक संसद्बाट पारित भइसकेको छ ।
नेता महतोले भने, नागरिकता विधेयक त प्रतिनिधिसभाबाट पारित भइसकेको छ । हाम्रा नेता, कार्यकर्तामाथि लागेका मुद्दा फिर्ताबारे पनिप्रधानमन्त्रीजी सकारात्मक देखिनुभएको छ ।ु सत्तामा सहभागी नभए पनि लोसपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेको छ ।
सत्तारुढ गठबन्धनमा अहिले कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । जसपाबाट फुटेर बनेको लोसपा र भर्खरै पुनर्गठन भएको बाबुराम भट्टराई र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा सामेल गराउने सत्ता पक्षको प्रयास देखिन्छ ।
स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन तालमेलसहित नेकपा एमाले(राप्रपाको गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिएको थियो । आउँदो मंसिर ४ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेल गरेर चुनाव लड्ने गठबन्धनले निर्णय गरिसकेको छ ।