नीता पाण्डे
यतिबेला नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टी नेपाली कांग्रेस आफ्नो १४औं महाधिवेशनको महासंग्राममा जुटेको छ । महाधिवेशनको संघारमा रहेको काँग्रेसका देशभरिका समग्र कार्यकर्ताले वडादेखि लिएर अहिले प्रदेशस्तरको निर्वाचनमा आफ्नो मतको व्यापक प्रयोग गरिरहेका छन् । उनीहरुले पार्टीको मुख्य नेतृत्व पार्टी सभापतिमा मतदान गर्ने पनि अब हप्ता दिन पनि बाँकी छैन । त्यसैले अहिले कांग्रेसलाई कस्तो नेपाली दल बनाउने भन्नेसम्बन्धी विचार, विवेचना र निर्णय गर्ने काममा उनीहरु जुटेका छन् । यसरी अहिले भने उनीहरु महाधिवेशनबाट आफ्नो अभिमत जाहेर गर्ने अन्तिम क्षणमा आइपुगेका छन् ।
देश अहिले कम्युनिष्ट अधिनायकबादबाट एक किसिमले मुक्त भएको अवस्थामा छ । अघिल्लो कम्युनिष्ट सरकारले देशमा झण्डै झण्डै दुई तिहाइ मतको आडमा नेपालमा प्रजातान्त्रिक संरचना र संस्कारलाई नै एक किसिमले भन्नुपर्दा भत्काउने प्रयासलाई निरन्तरता दिएको थियो । जसका कारण अहिले कतिपय क्षेत्रमा प्रजातान्त्रिक संस्कारमा पनि ह्रास आइसकेको अवस्था छ । त्यसका विरुद्धमा सुरुदेखि नै लढेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अथक प्रयासले आज नेकपाको दबदबाको पञ्जाबाट मुक्त गरेर देशमा सरकारको नेतृत्व दिइरहेका छन् ।
जनताले दिएको जनमतको कदर गर्ने र पाँचवर्ष सत्ता बाहिरै बसेर सरकारका विकास र अरु रचनात्मक काममा सहयोग पुर्याउने नीति लिएको काँग्रेसलाई अघिल्लो सरकारका पालमा बढेको भ्रष्टाचार, सत्ता प्राप्तिका लागि सत्तारुढ नेकपा भित्रै देखिएको विग्रह र यसको परिणामस्वरुप पटक पटक प्रधानमन्त्री केपी ओलीले गरेको संसदको विघटन आदि जस्ता कार्यले महामारीले अवाक भएका जनताले त्यो सरकारको निरन्तरता चाहेनन् । त्यसपछि कतिपय सत्ताकै घटकसमेत गरी पाँच राजनीतिक दलहरुको सहयोग र समन्वयमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो र अहिले संसद पुनस्र्थापना भएसँगै देश पनि प्रजातन्त्रको लिगमा लगभग फर्किसकेको छ ।
यस्तो अवस्थामा नेपाली काँग्रेसको महाधिवेशन सुरु भएको छ । यही अधिवेशनकै पूर्वसन्धयामा आम कांग्रेसले २०७४ को निर्वाचनको समीक्षा अहिले आएर गरिरहेका छन् । त्यो निर्वाचन, त्यसपछि कमजोर बनेको नेपाली काँग्रेसलाई नेतृत्वसँग जोडेर विश्लेषण गरिरहेका छन् । यति मात्र होइन कि उनीहरुले आ–आफ्नो स्थानबाट पार्टीलाई सुदृढ, एकतावद्ध, समावेशी र लोकप्रिय बनाउन भूमिका खेल्नुपर्ने दायित्व पनि सम्झिँदै छन् । कांग्रेस यो देशका सबै क्षेत्र, बर्ग र समुदायका नागरिकको पार्टी हो । महिला, आदिवासी, जनजाति, मुस्लिम, मधेशीलगायत देशका जुनसुकै भूगोलमा बसोबास गर्नेहरूको यस पार्टीमा आस्था छ । नेपाली कांग्रेस हिमाल पहाडदेखि तराई मधेशसम्मका सबै नागरिकको पार्टी हो ।
यो स्मरण गरेर नै कांग्रेस महाधिवेशन प्रतिनिधिले सुझबुझ अपनाउनुपर्ने अवस्था अहिले आएको छ । यसअघिका सरकारको नेतृत्व गर्ने क्रममा नै नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले महिला आयोग, दलित आयोग, राष्ट्रिय मानवअधिकार आयोग आदि गठन गरेका थिए । त्यस्तै वर्तमान संविधानमा नेपालको हर क्षेत्रमा महिला, जनजाति, मधेशीदेखि लिएर सीमान्तकृत र उपेक्षित उत्पीडित जातिका लागि व्यवस्था गर्ने कामका लागि पनि नेपाली काँग्रेसले नै नेतृत्व गरेको थियो ।
जसका कारण आज महिला राजनीतिक प्रणालीमा देशैभरि राम्रो समावेशी अवस्थामा छन् । काँग्रेस पार्टीकै कुरा गर्दा पनि हालको विधान इतिहासकै सबैभन्दा धेरै समावेशी रहेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीको विधान यो रुपमा समावेश बन्न सफल भएको छ । यसैले नेपालमा समावेशी राजनीतिका साथै महिला, दलित, जनजातिको अधिकार र पिछडिएको क्षेत्र र बर्गका नागरिकको हकहितका लागि पनि देउवाले नै संघर्ष गरी आएका छन् । उनी आफै पनि पिछडिएको क्षेत्रबाट देशको नेतृत्व गरिरहेकाले पनि आफै यस पक्षमा रहेका छन् ।
यतिबेला महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसमा परिपक्व नेतृत्वको नै खोजी भइरहेको छ । अहिलेसम्म अघि आएका उम्मेद्वारमा संस्थापन र संस्थापन इतर भनेर नै बाँडिएको अवस्था छ । संस्थापनबाट देउवाले नै उम्मेदबारी दिने पक्का छ भने अर्काे पक्ष अर्थात् पौडेल कोइराला पक्षबाट भने एकभन्दा बढी उम्मेदबारीको तयारी हुँदैछ । जस्तो रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर र सशांक कोइरालाले नै आफै उम्मेदबार बन्ने बताउँदै आएका छन् । सो समूहबाट आजका मितिसम्ममा एकमात्र बन्दा को उम्मेदबार बन्ने हो भन्ने बारेमा केही आएको छैन । सायद उनीहरुमा एकै व्यक्तिमा सहमति नहुने विभिन्न स्पष्ट संकेत पनि देखिइसकेका छन् । उता बिमलेन्द्र निधिको पनि आफ्नो तयारी रहेको देखिए पनि उनको उम्मेदवारी दिने तरखरमा रहेपनि बल भने देउवाको नै हो ।
पौडेल, कोइराला पक्षबाट एकमात्र उम्मेदबार हुने सम्भावनालाई नकार्न नसकिएपनि त्यसमा सर्वसम्मतको सम्भावना भने देखिँदैन । किनभने जसरी कोइराला परिवारबाटै शेखर र सशांकले एकले अर्कालाई स्वीकार्न नसकेको देखिएको छ, त्यसकै आधारमा भन्ने हो भने पनि त्यस पक्षबाट हुने एकल उम्मेदबारबाट सशांक कोइराला खुस नरहने सम्भावना उत्तिकै छ । यसैकारण पनि संस्थापन इतरबाट एलाइन्स बन्न नसक्ने र यदि बनि हाल्यो भने पनि त्यसभित्रको असन्तुष्टिको बढी फाइदा पनि देउवालाइ नै हुने देखिएको छ ।
सायद त्यसैले हुनसक्छ, पछिल्ला दिनमा सशांकका सार्वजनिक अभिव्यक्ति त्यति आएका छैनन्, जसरी शेखर र प्रकाशमान संस्थापन पक्षको आलोचक देखिन्छन् त्यति उनी छैनन् । देशका कतिपय जिल्लामा सशांक र संस्थापन पक्षका उम्मेदवार पनि बनेका देखिन्छन् ।
त्यसो त सभापतिको संस्थापन पक्षमा रामचन्द्र पौडेल रहने सम्भावना पनि उत्तिकै छ । किनभने अबको संसदीय निर्वाचनमा काँग्रेसले स्पष्ट बहुमत ल्याउने सम्भावना देखिएका कारणले पौडेललाई राष्टपति बनाएर अघि बढ्न सभापति देउवा लगभग लचक भएकाले नै पछिल्लो समय सत्ता सञ्चालनको घटकको सञ्जालको संयोजकमा पौडेलको संयोजकत्वमा भएको चर्चा पनि व्यापक नै छ ।
यदि त्यसो भयो भने पनि देउवालाई सहज वातावरण बन्ने छ । उता कृष्ण सिटौलाको सहयोग देउवा पक्षलाई हुने कुरा त देखिएकै छ, त्यसमा पौडेल थपिए भने देउवालाई पहिलो चरणमै करिब ६० प्रतिशतको हाराहारीमा मत प्राप्त हुने बलियो सम्भावना रहन्छ ।
यतिखेर देश बडो संवेदनशील अवस्थामा छ । सरकारको नेतृत्वको अवस्था पनि त्यस्तै छ । किनभने यो सहज परिस्थितिमा बनेको सरकार पनि होइन । अबका केही महिनापछि देशव्यापी रुपमा स्थानीय र आम निर्वाचनको माहोल सुरु हुन्छ । अघिल्ला यी सबै निर्वाचन पनि तत्कालीन विपक्षी एमालेको व्यापक असहयोग र आलोचना हुदाहुदै सभापति शेरबहादुर देउवाले गराएका थिए । अहिले फेरि त्यस्तै अवस्था आउँदैछ । त्यसैले पनि यो देशलाई परिपक्व र अनुभवी नेतृत्व आवश्यक छ ।
काँग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर तथा गिरिजाप्रसाद कोइरालालगायतका नेताको भावना बुझेको, उनीहरुको साथ संगत पनि गरेको र आवश्यकता अनुसार देश र काँग्रेसलाई हाँक्नसक्ने अनुभवी नेतृत्व अहिले काँग्रेसका प्रतिनिधिहरुले खोज्दैछन् ।
आश्वासन दिने र कलात्मक भाषण गरेरमात्र देश र पार्टी बन्दैन भन्ने त ओली सरकारबाट पनि प्रमाणित भइसकेको छ । त्यसकारण अब नेपाली कांग्रेसले अघि सारेको आर्थिक रूपान्तरण, आम नेपाली जनताको समृद्धिको एजेण्डालाई मूर्त रूप दिन सामथ्र्यवान, अनुभवी र शासनसत्ता सम्हालेको नेतृत्वको आवश्यकता छ । नेपाली कांग्रेसलाई अहिले इतिहासले दिएको यो जिम्मेवारीलाई मनन् गर्दै देशलाई आर्थिक समृद्धि र रूपान्तरणको कोर्समा अघि बढाउनसक्ने नेतृत्व चयन गर्नुपर्छ ।
पार्टीका सबै नेता कार्यकर्ता मात्र होइन कि देशका सबै शक्तिलाई समेटेर अघि बढ्न सक्ने तथा गाउँ–ठाउँमा काँग्रेसको संगठन बलियो बनाउँदै स्थानीय, प्रदेश र संघमा नेपाली कांग्रेसलाई विजय गराउन सक्ने नेतृत्व अहिले नेपाली कांग्रेसलाई चाहिएको छ ।
वर्तमान सभापति देउवाले नै सारा कम्युनिष्ट पार्टीहरु फुटेर टुक्रा परेको अवस्थामा पनि काँग्रेसलाई आजसम्म एक बनाएर राख्न सकेकाले यो उनको विशेषताको कदर गर्नुपर्ने कतिपय प्रतिनिधिहरुको मत छ । अहिले नेपाली कांग्रेसको सभापतिलाई देशले पनि नेता स्वीकार गरेको छ । जस्तो कि नेपाली जनताको चाहना बमोजिम नै पाँच दलीय गठबन्धनले नेता मानेरै उनलाई प्रधानमन्त्री बनाएका छन् । यी सबै पृष्ठभूमिलाई ध्यानमा राखेर आगामी महाधिवेशनमा सुझबुझपूर्ण र विवेकपूर्ण छनौट गरेर नेपाली कांग्रेसको नेतृत्वमा मुलुकलाई समृद्ध बनाउने कार्यको नेतृत्व देउवालेनै गर्न सक्ने उनीहरुको तर्क छ ।
उता आफ्नो नेतृत्वमा अबका निर्वाचन गराउने र अघिल्लो कम्युनिष्ट पार्टीको तालमेलका कारण संसदमा कमजोर उपस्थिति हुन पुगेको पार्टीलाई आफ्नै नेतृत्वमा देशको ठूलो पार्टी बनाउने र विगतमा आफूलाई लगोको दोष मेटाएर छोड्ने एजेण्डा पनि देउवाले लिएकाले अबका उनलाई नै फेरि एक पटक सभापति बनाउनुपर्ने तर्क काँग्रेसीजनहरुमा सुनिन्छ । यी तर्क र विश्लेषणलाई आधार मान्ने हो भने काँग्रेसको आसन्न महाधिवेशनमा देउवाको पल्ला नै बढी भारी देखिन्छ ।