क्यालिफोर्निया,मंसिर । अमेरिकाको क्यालिफोर्नियामा भूकम्प गएको छ। लस एन्जलस र यस वरपरका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो । ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे यूएसजीएसका अनुसार भूकम्प स्थानीय समय शनिबार बिहान करिब ९:३० बजे गएको हो ।
यसको केन्द्रविन्दु म्यानह्याटन बिचको तटबाट ६ किलोमिटर पर समुद्रमा थियो । भूकम्प जमिनको सतहबाट करिब १२ किलोमिटर गहिराइमा केन्द्रित थियो ।
लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आउँदै गरेका धेरै उडानहरूलाई अन्यत्र मोड्नु परेको छ ।
यसैबीच विमानस्थलको टर्मिनल भवनको छतबाट टाइलहरू खसेका छन् भने विभिन्न पसलहरूमा सामानहरू लडेका छन् ।
क्षतिको पूर्ण विवरण आइसकेको छैन । ४५ मिनेटभित्र धेरै परकम्पनाहरू
मुख्य भूकम्प गएको ४५ मिनेटभित्र धेरै परकम्पनाहरू महसुस गरिए। तीमध्ये सबैभन्दा शक्तिशाली पराकम्पन ३.७ रेक्टर स्केलको थियो। भूकम्पको केन्द्रबिन्दुबाट करिब ४३ किलोमिटर टाढा पासाडेनासम्म पनि यी धक्काहरू महसुस गरिएका थिए।
लस एन्जलस दमकल विभागले आफ्नो आपतकालीन प्रतिक्रिया प्रणाली सक्रिय बनायो। कुनै क्षति भए-नभएको यकिन गर्न सहरभरि रहेका १०६ वटै दमकल केन्द्रहरूबाट कर्मचारीहरू खटाइयो। प्रारम्भिक जाँचमा कोही पनि घाइते नभएको र भवनहरूमा कुनै ठूलो संरचनात्मक क्षति नभएको पाइयो।
भूकम्प गएको केही समयपछि, लस एन्जलस विमानस्थल नजिकै रहेको 'शेभरोन' को 'एल सेगुन्डो' रिफाइनरीबाट आगोको ज्वाला र धुवाँ निस्किरहेको देखियो। अधिकारीहरूले स्पष्ट पारे कि यो भूकम्पका कारण लागेको आगो होइन।
सुरक्षा प्रक्रियाको एक भागका रूपमा रिफाइनरीमा रहेको अतिरिक्त ग्यास जलाइएको थियो। कम्पनीका अनुसार, भूकम्पजस्ता घटनाहरू हुँदा प्लान्टका उपकरणहरू स्वतः बन्द हुन्छन् र त्यसपछि अतिरिक्त ग्यासलाई नियन्त्रित तरिकाले जलाइन्छ।
यो रिफाइनरीले दक्षिणी क्यालिफोर्नियाका करिब २० प्रतिशत सवारी साधनहरूका लागि इन्धन, साथै यस क्षेत्रमा खपत हुने जेट इन्धनको ४० प्रतिशत हिस्सा आपूर्ति गर्दछ। अक्टोबर २०२५ मा पनि यस केन्द्रमा आगलागीको घटना भएको थियो।
लस एन्जलसकी मेयर करेन बासले प्रारम्भिक मूल्याङ्कनअनुसार कुनै ठूलो क्षति नभएको बताइन्। उनले सर्वसाधारणलाई सम्भावित परकम्पनाहरूबारे सतर्क रहन र भूकम्पको गतिविधि चलिरहँदा सुरक्षित स्थानमा बस्न आग्रह गरिन्।
अमेरिकी सुनामी चेतावनी केन्द्रले पनि यो भूकम्पका कारण सुनामी आउने कुनै जोखिम नरहेको पुष्टि गरेको छ। स्थानीय अधिकारीहरूले क्षतिको विस्तृत मूल्याङ्कन गर्न थालेका छन्।