काठमाडौँ, कात्तिक ।
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउने बताएका छन ।
टर्कीमा हुन लागेको कोप–३१ को पूर्वतयारीका लागि आयोजित राष्ट्रिय जलवायु शिखर सम्मेलन २०२६ लाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले भने, आगामी कोप–३१ मा नेपालले पर्वतीय एजेन्डा, जलवायुजन्य क्षति तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउनेछ।
परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको पारिस्थितिक प्रणाली थप जोखिमपूर्ण बन्दै गएको उल्लेख गरे। हिमालको संरक्षणलाई साझा विश्वव्यापी जिम्मेवारीका रूपमा लिनुपर्छ।
हिमाली क्षेत्रको पारिस्थितिक स्थिरता हाम्रो सीमाभन्दा धेरै परसम्म रहेका लाखौँ मानिसको जल, खाद्य, ऊर्जा र आर्थिक सुरक्षासँग अभिन्न रूपमा जोडिएको छ।
त्यसैले हाम्रा हिमालको संरक्षण गर्नु साझा विश्वव्यापी जिम्मेवारी हो,’ उनले भने।
कृषि, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित सम्मेलनमा परराष्ट्रमन्त्री खनालले कोप–३१ मा नेपालले अन्तर्राष्ट्रिय जलवायु सहकार्यलाई परिणाममुखी बनाउन पहल गर्ने बताए ।