२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

शरद् ऋतुमा हिमाल आरोहण

४४ हिमाल आरोहण गर्न - ' ७६ देशका आरोहीलाई अनुमति '

बिहिवार , कार्तिक १३, २०८३

 

काठमाडौं, कात्तिक ।

शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४१० आरोहीले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ। शरद् ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले अनुमति लिएका हुन्।

पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि १ हजार ६९ पुरुष र ३४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए। 

 

आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ रोयल्टी संकलन गरेको छ।

आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) का रहेका छन्। मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५ सय आरोहीले अनुमति लिएका छन्। 

जसमा ३७३ पुरुष र १२७ महिला छन्। उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन गरेको छ।

धौलागिरि १ आरोहणका लागि ६ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन्। उनीहरूबाट विभागले ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी संकलन गरेको छ। 

यस्तै, मकालु हिमाल आरोहणका लागि एउटा टोलीका तीन जनाले अनुमति लिएका छन्। उनीहरूबाट विभागले ६ लाख ८८ हजार ५० रुपैयाँ राजस्व संकलन गरेको शाखा अधिकृत रेग्मीले बताए।

यसैगरी, हिम्लुङ हिमालका लागि १२ टोलीका १२१ आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट विभागले ७४ लाख २७ हजार ७२० रुपैयाँ रोयल्टी संकलन गरेको छ। 

यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ३२ टोलीका ३८६ जनाले आरोहण अनुमति लिएका छन्।  उनीहरूबाट विभागले ५ करोड ७६ लाख ९९ हजार ६५० रुपैयाँ राजस्व संकलन गरिएको छ।

शाखा अधिकृत रेग्मीका अनुसार पुथा हिउँचुली, डांगा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गंगापूर्णा पश्चिम -लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक -धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको छ।

आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १४१ जना छन्। 

यसबाहेक रुसका १०८, फ्रान्सका १३०, अमेरिकाका ११९, बेलायतका ९६, पोल्याण्डका ४१, नेपालका ३३, स्विट्जरल्यान्डका ४७, स्पेनका ३१, भारतका ४०, इटलीका ४७ र जापानका ३५ जनाले आरोहण अनुमति लिएका शाखा अधिकृत रेग्मीले  सञ्चारकर्मीलाई बताए।

विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट २० लाख ८९ हजार ५८४ अमेरिकी डलर अर्थात् ३१ करोड ८० लाख ५० हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार