२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

कांग्रेस महाधिवेशन : ' सम्पूर्ण मतपरिणाम आज रातिसम्म आउने '

बिहिवार , आश्विन २९, २०८३

कांग्रेस महाधिवेशन : ' सम्पूर्ण मतपरिणाम आज रातिसम्म आउने '

काठमाडौँ, असोज ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने भएको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम सार्वजनिक भइसक्ने जानकारी दिए ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ ।

अहिले केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना जारी छ । निर्वाचन समितिले मतगणनालाई तीव्रता दिँदै बाँकी परिणामसमेत आजै सार्वजनिक गर्ने तयारी गरेको हो ।

केन्द्रीय सदस्यतर्फ खुला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहको मतगणना भइरहेको छ । खुला केन्द्रीय सदस्यका ४५ पदका लागि प्रतिस्पर्धा छ ।

उम्मेदवारको सङ्ख्या धेरै हुनु र ठुलो सङ्ख्यामा मतपत्र गणना गर्नुपर्ने भएकाले सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्न समय लागेको हो ।

निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना अघि बढाइरहेको छ । बाँकी समूहको मतगणना सम्पन्न गरी आज रातिसम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने लक्ष्य समितिले राखेको छ ।

सम्पूर्ण मतपरिणाम सार्वजनिक भएसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण संरचना टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार