काठमाडौं, असोज ।
राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ ।
बिहीबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली,२०७५ को नियम १६७ बमोजिम एक सदस्य पछि थप गर्ने गरी ९ सदस्यीय भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको जानकारी दिए ।
समितिको सदस्यमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी , सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुलप्रसाद विश्वकर्मा रहेका छन् ।
विपद् प्रभावितलाई पुनस्र्थापना एवम् भौतिक संरचनाको पुनर्निर्माण,जोखिम न्यूनीकरण र जलवायु न्यायको लागि मार्गचित्र सिफारिस गर्न विपद् सम्बन्धमा सबै पक्षको अध्ययन गरी राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्ने गरि विशेष समिति गठन गरिएको अध्यक्ष दाहालले जानकारी दिए।
समितिको कार्यावधि २०८३ पुस मसान्तसम्म रहने र आफ्नो कार्यक्षेत्र अन्तर्गतको जिम्मेवारी सुव्यवस्थित ढंगले सञ्चालन गर्न राष्ट्रियसभा नियमावली,२०७५ को अधिनमा रही आवश्यक कार्यविधि,कार्ययोजना र कार्यतालिका बनाई लागू गर्न सक्ने उनले बताए।