काठमाडौँ, भदौ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका सात वटै प्रदेशका विभिन्न स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ भने बागमती, गण्डकी, लुम्बिनी प्रदेशको केही स्थानमा, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान तथा मधेस प्रदेशको एक, दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
आइतबार रातिदेखि सोमबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ । सोमबार देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
मङ्गलबार पनि देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।