२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

बेमौसमी वर्षापछि हिमपात : ' हिमालको सौन्दर्य बढायाे '

शुक्रवार , कार्तिक १४, २०८२

 

काठमाडौँ, कात्तिक। बेमौसमी वर्षापछि हिमाली क्षेत्रमा कात्तिक महिनामै अचानक हिमपात भएपछि सरोकारवालाले यसले हिमालको सौन्दर्य बढाउन सहयोग पुग्ने बताएका छन् । जलवायु परिवर्तनका कारण सेता हिमाल कालापत्थरमा परिणत हुँदै गर्दा चिन्ता र चासो व्यक्त गर्ने हिमालवासी हिमपातपछि भने यसबाट हिमालमा सकारात्मक प्रभाव पर्ने प्रतिक्रिया दिए ।

मुख्य पर्यटकीय याममा परेको हिउँले तत्कालका लागि पर्यटक व्यवस्थापन तथा उद्धारमा समस्या भए पनि दीर्घकालीन रुपमा भने यो सकारात्मक भएको उनीहरुको भनाइ छ ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जेन शेर्पाले हिउँ परेपछि अहिले हिमाल बल्ल हिमाल जस्तो देखिएको भन्दै खुसी व्यक्त गरे । गत वर्ष यो समयमा हिउँ नै परेन, यसपाली अक्टोबरमै हिउँ परेको छ, हिउँ परेपछि हिमाल हेर्न लायक भएका छन्, हिमालमा हिउँ देख्न पाउँदा खुसी लागेको छ ।

उनले भने, ' जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लने क्रम बढेको थियो, हिमपातले हिमाललाई राम्रो गरेको छ । उनले आफू सानो छँदा प्रशस्त हिउँ पर्ने गरेको भए पनि विगतका वर्षमा मङ्सिर, पुस र माघसम्म पनि हिउँ पर्न छाडेको उल्लेख गरे ।

हिमालमा हिउँ पर्न थालेपछि नदीमा पानीको बहाव बढ्छ, यसले जलविद्युत् आयोजनलाई पनि सहज हुन्छ, हिउँ नपर्दा हिमनदीमा पानीको सतह कम थियो, उनले भने ।

अध्यक्ष शेर्पाले हिमपातले हिमाली क्षेत्रमा रहेका टेकिङ गाइड र आरोही, पदयात्री केही असहज भएको उल्लेख गरे । अहिले हिमाली क्षेत्रमा हवाई उडान ठप्प भएको छ, पर्यटक रोकिएको अवस्था छ, पर्यटनका दृष्टिले तत्कालका लागि असहज भए पनि दीर्घकालका लागि भने यसको सकारात्मक प्रभाव पर्ने , उनले भने ।

उनले यो हिमपातले कृषि क्षेत्र, चौँरी र भेडापालनमा खासै असर नगर्ने बताए । हिउँ पर्न सुरु भएसँगै चौँरी र भेडालाई सुरक्षित स्थानमा राखिएकाले समस्या नहुने उनको भनाइ छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका- ४ स्थित खुम्जुङ खुन्दे खानेपानी उपभोक्ता समितिका अध्यक्ष पेम्बा छिरिङ शेर्पाले अहिले तेङबुचेभन्दा माथि हिउँ परेको बताए ।

हामी सानो छँदा दसैँपछि पानी पर्दथ्यो, दसैँमा भएको काटमार त्यसपछि परेको पानीले पखाल्छ भन्ने मान्यता थियो, यो समयमा परेको हिउँले गाईबस्तुमा खासै असर गर्दैन, हिमाललाई राम्रो भएको छ, उनले भने । उनका अनुसार यो याम पर्यटक आउने समय हो । अधिकांश पर्यटक पदयात्राका लागि उक्त क्षेत्रमा आउँछन् ।

यहाँ ९५ प्रतिशत बासिन्दा पर्यटन व्यवसायमा आश्रित छन्, अहिलेको हिमपात यहाँको पर्यटन क्षेत्रको विकासका लागि राम्रो भएको छ, उनले भने, नाम्चेमा दैनिक औसतमा ५०० पर्यटक आउने समय हो, तत्काल व्यवसायमा असर परेपनि हिमाल सेताम्मे देख्दा खुसी लागेको छ । उनका अनुसार अहिले सुरु भएको हिमपात नोभेम्बर १५ सम्म चल्छ ।

नाम्चे बजारका होटल व्यवसायी पेम्बा ग्याल्जेन शेर्पाले पनि हिमपातपछि हवाई उडान प्रभावित भएको बताए । यहाँ आउने पर्यटक प्रभावित भएका छन्, यद्यपि नाम्चे बजारमा भने समस्या छैन, बेमौसमी हिउँ पर्दा पर्यटनका लागि राम्रो भएका छ, उनले भने ।

विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असरको विषय उठान भइरहेका बेलामा हिमाल हिउँले ढकमक्क हुँदा सौन्दर्य बढेको उनको भनाइ छ । यो हिमपातले कृषि र पशुपालनमा पनि राम्रो गर्छ, पर्यटन क्षेत्रका लागि पनि राम्रो छ, समयमै सतर्कता अपनाइएकाले सबैजना सुरक्षित हुनुहुन्छ, होटल भरिभराउ छन्, उनले भने । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार