२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

पोखरा - मुग्लिन सडकको पश्चिम खण्ड : " ११ पुल बने, दुई निर्माणाधीन "

शनिवार , श्रावण ३, २०८२

 

गण्डकी, साउन । पोखरा- मुुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा - जामुने) मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला -१, फेदीखोला- २, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो ।

आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार सडक ठेक्का अन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । विजयपुर खोला पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ भने सेती पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको उनले जानकारी दिए ।

विजयपुर पुल बन्न अझै पाँचदेखि छ महिनासम्म लाग्ने प्रमुख कुँवरले बताए । आगामी भदौमा तीनवर्षे ठेक्का अवधि सकिन लागेको सेती पुलको भौतिक प्रगति पनि न्यून देखिएको छ । विसं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो ।

पुलको डिजाइन स्वीकृतदेखि मापदण्डभित्रका संरचना हटाउनेसम्मका काममा ढिलाइ भएकाले पुल समयमै बन्न नसकेको प्रमुख कुँवरले बताए । केबल- स्टेड प्रविधिको उक्त पुलमा सब–स्ट्रक्चरको काम सकिएको र अहिले डाउनस्ट्रिम पुलमा सुपर स्ट्रक्चरको काम भइरहेको उनको भनाइ छ ।

आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुई वटा सिग्नेचर पुल बन्ने भएका हुन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा पुल निर्माणको काम भइरहेको हो । पुलमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो ।

पोखरा - मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पश्चिम खण्डमा पोखराको सेती र पूर्वी खण्डतर्फ तनहुँको मादी नदीमा सिग्नेचर पुल निर्माण भइरहेको हो । पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा- मुग्लिन सडक २०७८ साल वैशाखदेखि विस्तार तथा स्तरोन्नति सुरु गरिएको थियो ।

निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने- मुग्लिन) मा हालसम्म भौतिक प्रगति ८६ प्रतिशत र पश्चिम खण्ड (पोखरा- जामुने) मा ५५ दशमलव १० प्रतिशत पुगेको छ ।

कुल ४१ दशमलव ४५ किमी दूरीको पूर्वी खण्डमा कालोपत्रको काम सकिए पनि सडक मार्किङ, सौन्दर्यीकरणलगायत काम बाँकी रहेको जनाइएको छ । पूर्वी खण्डमा तेस्रोपटक थपिएको म्याद गत असार २९ मा सकिएपछि पुनःम्याद थपको प्रक्रिया अगाडि बढाइएको आयोजना कार्यालयले जनाएको छ ।

कूल ३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा हालसम्म ३६ दशमलव ५ किमी एकतर्फी ९दुई लेन० सडकमा पहिलो तहको कालोपत्र भइसकेको प्रमुख कुँवरले बताए ।

२६ दशमलव ३८ किमी दूरीमा दुईतर्फी (चार लेन) नै कालोपत्र भइसकेको छ, उनले भने, एक सय पाँच वटा कल्भर्टमध्ये १०३ वटा निर्माण भइसकेका छन् । पश्चिम खण्डको ठेक्का म्याद आगामी पुस १६ गते सकिने प्रमुख कुँवरले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार