काठमाडौँ, असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको जोखिमबाट सिङ्गो संसारलाई जोगाउन सबैभन्दा पहिले नेपालका हिमालको सौन्दर्य बचाउनुपर्ने आवश्यकता औँल्याएका छन ।
राष्ट्रिय समाचार समिति (रासस) ले गणतन्त्र दिवस २०८२ का अवसरमा आयोजना गरेको ' पर्वतीय पर्यटनः हाम्रो शान हाम्र्रो पहिचान' विषयक तस्बिर प्रदर्शनीको समापनका अवसरमा हिमाल आरोहीसमेत रहेका महामन्त्री शर्माले वातावरण परिवर्तनका कारण सङ्कटग्रस्त हाम्रा हिमाललाई जोगाउन सबै क्षेत्रबाट पहल हुनुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तनको जोखिमबाट सिङ्गो संसारलाई जोगाउनुछ भने सबैभन्दा पहिले नेपालका हिमाललाई जोगाउनुपर्छ, उनले भने, यसैगरी जलवायुजन्य जोखिम बढ्दै गएमा अहिले तस्बिरमा देखिएका हिमालहरु अबको १० वर्षमा हामीले देख्न पाउने छैनौँ, त्यसतर्फ गम्भीर भई आआफ्नो ठाउँबाट हिमाल जोगाउने अभियानमा सक्रिय सहभागी होऔँ ।
महामन्त्री शर्माले यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथाको आरोहणको प्रयास गरेका थिए । सगरमाथाको तेस्रो शिविरमा पुग्नुभएका नेता शर्मा प्रतिकूल मौसमका कारण त्यहीँबाट आरोहण यात्रा टुङ्ग्याएर फर्केका थिए। उनले यसअघि लोबुचे हिमालको आरोहण गरेका थिए ।
प्रदर्शनीमा राखिएको हिमालको महत्व झल्काउने तस्बिरले नजिकैको सिंहदरबारलाई देखाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको जनाउँदै महामन्त्री शर्माले प्रदर्शित तस्बिरहरुले नीति निर्मातादेखि कार्यान्वयन पक्षको ध्यानाकर्षण गराउने विश्वास व्यक्त गरे । उनले भने, ' प्रदर्शनीमा हाम्रा सुन्दर हिमाल, पहाड, तालतलैया देखिएका छन् ।
प्रदर्शनी केवल तस्बिरको रूपमा मात्र नभई १० वर्षपछि पनि यही अवस्थामा यस्तै रहन्छ कि रहँदैन भन्ने चिन्ता र चासोसहित नजिकैको सिंहदरबारलाई देखाउन पनि महत्त्वपूर्ण छ । जलवायु परिवर्तनको असर कार्वन उत्सर्जनको मात्रा बढ्दै गएको र त्यसको जोखिम नेपालजस्ता मुलुकहरुले व्यहोर्नुपर्ने बाध्यता रहेको महामन्त्री शर्मा बताए ।
उनले नेपाललाई मात्र नभई सिङ्गो संसारलाई नेपालमा रहेका अन्तरराष्ट्रिय सङ्घ संस्था, अन्तरराष्ट्रिय मिडिया एजेन्सीहरूलाई एकै ठाउँमा राखेर नेपालकाप्रति संसारलाई झकझक्याउन जरुरी भएको बताए । उनले भने, ' हिमाल हाम्रो सौन्दर्य, स्वाभिमानको प्रतीक पनि हो ।
नेपाल देश भनेर संसारमा चिनिएको महत्त्वपूर्ण प्रतीकमध्ये हिमाल पनि एक हो ।' महत्त्वपूर्ण तस्बिर कैद गर्ने राससकर्मीलाई ह्दयदेखि सम्मान र बधाई दिन चाहन्छु । राससले समग्रतामा सबै तस्बिरलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरेको छ । आज सबै हिमालको प्रतिकात्मक चित्र देखिएको छ ।
महामन्त्री शर्माले प्रदर्शनीमा आएर चित्र हेरेर मात्र पुग्दैन चित्रको पछिल्तिरको बिचित्रलाई पनि हेर्नसक्ने ह्दय राख्नुपर्छ , भन्दै जलवायु परिवर्तनको ठूलो जोखिमको अवस्थामा महत्त्वपूर्ण प्रदर्शनी आयोजना गरेर संसारलाई झक्झक्याएकामा रासस परिवारलाई धन्यवाद व्यक्त गरे ।
तस्बिर प्रदर्शनीको समापन गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले हिमालको महत्वका बारेमा जनचेतना जगाउने र नीति निर्मातालाई झक्झक्याउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरेको बताए । उनले भने, नीति निर्माण तहमा रहेका पदाधिकारी, नेतागण, पर्यटन व्यवसायी, विदेशी कूटनीतिक क्षेत्रका व्यक्तिहरूले बडो अभिरुचिका साथ प्रदर्शनी अवलोकन गरे ।
भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनीमा हिमाल, हिमाली तथा पहाडी जनजीवन एवं मुलुकका प्रमुख पर्यटकीयस्थलसँग सम्बन्धित ९६ वटा तस्बिर समेटिएका थिए ।विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमशिखरमध्ये सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण र धवलागिरि हिमशृङ्खला नेपालमा छन् ।