२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

हाम्रा - गाउँघर 

हलगोरु पाल्ने १७८ किसान : ' गाउँपालिकाबाट पाए पोषणभत्ता '

बिहिवार , बैशाख २५, २०८२

 

गलकोट (बागलुङ), वैशाख । यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन नीति तथा कार्यक्रम अन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो ।

परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रु आठ लाख ९० हजार पोषणभत्ता सोझै किसानको हातमा पुयाइएको अध्यक्ष राजु थापाले बताए ।

उनले गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरेर १७८ जनालाई रु पाँच हजारका दरले पोषणभत्ता प्रदान गरिएको बताए । हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएका थियौँ, हाल १७८ किसानले लाभ उठाएको छ ।

पालिकाले गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउन पहिलो पटक यो कार्यक्रम ल्याएको हो । अध्यक्ष थापाले भने, 'गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिन्छ, 'दूध उत्पादन गर्ने किसानले प्रतिलिटर रु साढे दुईका दरले अनुदानसमेत पाएका छन्भने वडास्तरमा माइनर ल्याब स्थापना गरी पशु सेवा दिइएको छ ।'

आधुनिकताको नाममा मिनी टिलर हलो वितरण हुन थालेपछि परम्परागत गोरुपालक किसानलाई समस्यामा परेको महसुसपछि यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ विभिन्न स्थानीय तहमा कृषिमा आधुनिकीकरणका नाममा मिनी टिलर हलो वितरण गर्ने लहडै चलेको तर हामीले गाउँ- गाउँमा परम्परागतखेती गर्न हलगोरु नै उपयुक्त देखेका छौँ ।

कृषिमा मलमूत्रको प्रयोग अपरिहार्य रहेकाले किसानलाई प्रोत्साहन गर्न यो अभियान सुरु गरेका हौँ , अध्यक्ष थापाले भने । गाउँपालिका पशु शाखा प्रमुख होमबहादुर थापा गोरु पाल्दा वातावरणमा सकारात्मक प्रभाव पर्ने भएकाले यसलाई जोगाइ राख्नुपर्ने आवश्यकता देख्छन ।

त्यसैकारण पालिका आफैँले यो अभियानको सुरुआत गरेको उनले बताए । गाउँपालिका ७ रेशका गोरुपालक किसान डम्मरबहादुर थापाले गोरु पाल्ने किसानले पहिलोपटक सहयोग पाउँदा सम्मानको महसुस गरेको बताए । उनले रेशमा आफूजस्ता हलगोरु पाल्ने पाँच जना किसानले अनुदान पाएको बताए ।

काठेखोला गाउँपालिकाले किसानलाई प्रोत्साहनका लागि दूधमा समेत अनुदान दिन थालेको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, किसानलाई निःशुल्क रूपमा पशुलाई औषधि वितरण र ९२ वटा गाईभैँसीको नस्ल सुधारका लागि कृत्रिम गर्भाधान गराइएको उनले बताए । पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रममार्फत अनुदान र पशुपक्षी फार्म यन्त्रिकीकरणमा सहयोग गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार