मध्यविन्दु (नवलपरासी), चैत । नारायणगढ- बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ । सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा यात्रुहरू दिनहुँ कष्ट भोग्न बाध्य छन् ।
सडक खण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो । यात्रु जीवन ढकालले भने, ' दुम्कीवासदेखि दाउन्ने हुँदै बर्दघाटसम्मको बाटो निकै जोखिम पूर्ण छ । धुलो, धुवासँँगै दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।
दाउन्नेको बाटो छिचोल्न चार घण्टा लाग्यो ।दाउन्ने खण्डमा धुलोका कारण दिउँसै हेड लाइट बालेर हर्न बजाउँदै गाडीहरू गुडाउनुपर्ने बाध्यता छ । वैकल्पिक सडक नहुँदा यहाँ दिनहुँ सवारी जाम हुने समस्या उस्तै छ । फोन नलाग्ने, जङ्गल भएका कारण कहिले काहीँ यात्रु भोक भोकै बस्नुपर्ने अवस्था छ । दाउन्ने सडकको दुर्गति देखेर गाडी चालकहरू पनि हैरान छन् ।
ट्रक, बस, मोटरसाइकल सबैका लागि यो खण्ड जोखिमपूर्ण बनेको छ । चालक वसन्त खनाल भन्छन, ' १४ किलोमिटरको बाटो पार गर्न दुई-तीन घण्टा लाग्छ । लगातार धुलो खेप्नुपर्ने, गाडी हल्लिने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । प्रायः सङ्घीय राजधानी काठमाडौँबाट आउने र मुलुकका अन्य स्थानबाट काठमाडौँ जाने सवारी साधन मध्यरातमा यहाँ पुग्दछन् । यो समयमा यात्रु र चालकले भोग्नुपर्ने सास्ती थप कष्ट पूर्ण हुने गरेको छ । बाटो नदेखिने गरी उड्ने धुलोका कारण दुर्घटनाको जोखिम पनि उस्तै , उनले भने ।
इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी नायब निरीक्षक लक्ष्मण तनगामी पनि समयमा सडक निर्माण नहुँदा यस क्षेत्रको यात्रा निकै कष्टपूर्ण रहेको सुनाए ।दाउन्ने खण्डको सडक साँघुरो, उकालो-ओरालो, घुमाउरो मोड, एउटा गाडी बिग्रियो वा अर्कोले लेन क्रस गरेर अगाडि जान खोज्यो भने घण्टौँ जाम हुन्छ , उनले भने, ' भिरसहितको साँघुरो सडक भएकाले सवारी साधन बिग्रिएपछि व्यवस्थापन गर्न पनि समय लाग्ने हुँदा जामको समस्या बढी हुने गरेको छ ।
हामीलाई पनि ट्राफिक व्यवस्थापनमा उत्तिकै समस्या छ । यस खण्डमा हाल सडक विस्तारको कामअन्तर्गत कल्भर्ट निर्माण र सडक चौडा बनाउने काम भइरहेको छ । दाउन्ने क्षेत्रमा अधिकांश बाटो एकतर्फी मात्र सञ्चालनमा छन् । एकतर्फी बाटोमा मालवाहक सवारी साधन बिग्रँदा घण्टौँ आवागमन ठप्प हुने गरेको प्रहरी नायब निरीक्षक तनगामीले बताए ।
नारायणगढ बुटवल सडक खण्डको बढी जोखिमपूर्ण मानिने दाउन्ने क्षेत्रमा पनि घ्यू खोला र ८३ मोड बढी दुर्घटना हुने क्षेत्र मानिन्छन् । हिजोआज यो खण्डमा सानो ठूला सवारी दुर्घटना हुने क्रम पनि बढेको छ, उनले भने । नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये ४७ किलोमिटर एकतर्फी कालोपत्रको काम भएको छ ।
कल्भर्ट तथा बाँकी पुलको निर्माण, १३ स्थानमा बेस तथा सब–बेसका कामहरू भइरहेका छन् । दाउन्ने क्षेत्र पहाड भएकाले कटानको काम चलिरहेकाले यात्रा कष्टपूर्ण नैे छ । आयोजनाअन्तर्गत पूर्वी खण्डको अहिलेसम्मको भौतिक प्रगति ५७ दशमलव सात प्रतिशत रहेको उनले जानकारी दिए ।
निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले सवारी आवागमनमा अवरोध कम गर्ने गरी निर्माण कार्य गरिएको दाबी गरे । हाल सडक विस्तारका लागि ६५० भन्दा बढी कामदार परिचालन गरेर काम भइरहेको छ । सडक आयोजनाको पूर्वी खण्ड अन्तर्गत दाउन्ने क्षेत्रको सबैभन्दा कठिन पहाडी चट्टान कटान गसिकेका छौँ , उनले भने ।
उनका अनुसार नारायणगढ- बुटवल सडकको ११४ किलोमिटर अन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर मध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र दाउन्नेको जोखिमपूर्ण क्षेत्रमा १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा निर्माण सुरु भएको यस आयोजनामा समयमा काम नभएपछि हालसम्म तीनपटक म्याद थपिएको छ । तेस्रो पटक थप गरिएको म्याद २०८२ साउन ८ गते सकिने छ ।