काठमाडौँ, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी देश चीनको चारदिने औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछन ।
ओली प्रधानमन्त्री भएपछि पहिलो चीनको द्विपक्षीय भ्रमण गर्न लागेका हुन । उनी आज बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उड्ने कार्यक्रम रहेको जनाइएको छ ।
प्रधानमन्त्री ओली निजी एयरलाइन्स हिमालयको चार्टर विमानमा चीन जान लागेका हुन् । ओलीको भ्रमण टोलीमा ३९ जना सरकारी र ४७ जना व्यापारिक क्षेत्रबाट रहेको जनाइएको छ ।
प्रधानमन्त्री ओली बेइजिङको स्थानीय समय अनुसार आज, सोमबार, बेलुकी साढे ५ बजे पुग्नेछन ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ ।
सोही द्विपक्षीय वार्तामा दुई मुलुक बीचका एजेन्डामा छलफलका साथै आपसी सहमति र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको बताइएको छ ।
त्यसपछि प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
साथै, सोही दिन चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
साथै, उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन सोही दिने गर्ने छन् । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी रहने छन् ।
भ्रमणको चौथो दिन बिहीबार ओली बिहानै बेइजिङबाट काठमाडौंका लागि उड्ने छन् । उनी करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने कार्यक्रम तय भएको छ ।
सोमबार
- बिहान ११ बजे काठमाडौंबाट उड्ने
- बेलुकी साढे ५ बजे बेइजिङ पुग्ने
मंगलबार
- चीनका प्रधानमन्त्री ली छ्यानसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने
- चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने
- चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने
बुधबार
- पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने
- नेपाल- चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्ने
- बेजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुने
बिहीबार
- बेइजिङबाट नेपालका लागि उड्ने
- करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने