२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा छलफल

प्रधानमन्त्री ओलीलाई संसद्‌मा दुई तिहाई :  "  २६३ मध्ये १८८ मत  पाए "

आइतवार , श्रावण ६, २०८१

 

काठमाडौँ, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाईको विश्वास प्राप्त गरेका छन् ।  प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आइतबार विश्वासको मत लिएका थिए ।

त्यसक्रममा प्रतिनिधिसभामा उनको पक्षमा दुई तिहाई सांसदले समर्थन गरेका हुन् ।

प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये ओलीको पक्षमा १८८ मत परेको थियो । विपक्षमा ७४ मत पर्‍यो भने मत दिन्न भन्नेमा १ मत परेको छ ।

प्रतिनिधिसभामा १८४ मतले दुई तिहाई पुग्छ। ओलीले त्यसभन्दा बढी मत पाएका छन् ।

गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भइ सोमबारबाट कार्यभार थालेका प्रधानमन्त्री ओलीले संविधानको प्रावधान अनुसार विश्वासको मत लिएका हुन् ।

प्रतिनिधिसभामा ओलीको पक्षमा कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा लगायतका दलको समर्थन छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी चाहिँ ओलीको विपक्षमा उभिए ।

कांग्रेस र एमालेबीच सरकार सञ्चालनका लागि गठबन्धन गर्ने सहमति असार १७ मा भएसँगै ओलीको चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने आधार तयार भएको थियो ।

ओली २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । उनको पहिलो कार्यकाल ९ महिनाको थियो । 

प्रतिनिधिसभा निर्वाचन २०७४ मा एमाले र माओवादीले चुनावी गठबन्धन गरेका थिए ।  उक्त निर्वाचनबाट कम्युनिस्ट गठबन्धनले प्रतिनिधिसभामा झन्डै दुईतिहाइ सिट प्राप्त गर्‍यो र पार्टी एकताको घोषणा गर्‍यो । 

सोही जनमतका बलमा ओली संविधानको धारा ७६ (१)  बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेताको हैसियतमा २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार