२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस- एमाले सहमति

महामन्त्री थापाले भने  : " प्रधानमन्त्रीले संसद्‌मा स्पष्ट पार्नुपर्छ "

७ बुँदे सहमति कार्यान्वयन हुनेमा मानिसमा संशय

शनिवार , श्रावण ५, २०८१

 

काठमाडौँ,  साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभाबाट त्यस्ता संशयहरुलाई स्पष्ट पार्नुपर्ने बताए ।

शनिवार जय नेपाल फाउण्डेशनले गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरै पटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको बताए ।

उनले भने, ‘आजको रियालिटी के हो भने नेपाली कांग्रेस पार्टीले नेकपा एमालेसँग एउटा समझदारी गरेको छ । त्यो समझदारीको आधारमा हामी सत्तामा छौं । अब यसको पुष्टि हाम्रो एक्सनबाट हुनुपर्छ । हाम्रो कामबाट हुनुपर्छ । '

'हामीले किन गर्‍यौं ? भोलि प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । त्यसकारण अहिले धेरै कुरा भन्न उपयुक्त नहोला । किनकी उहाँले नै भन्नुहोला । '

'भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले भोलि राष्ट्रको नाममा अथवा विश्वासको मत लिँदै गर्दा खेरी, संसद्‌मा आफ्नो विचार राख्दै गर्दा खेरी यति वटा बुँदामा नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा समझदारी भयो ।'

'सात बुँदाको बीचमा भनिरहेको छ । अब यो सात बुँदा के हो भन्ने बारे भोलि त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु ।'

'उनले त्यो सहमतिलाई कसरी अघि बढाउने भन्नेमा प्रधानमन्त्री ओली नै प्रमुख जिम्मेवार रहेको बताए । उनले कांग्रेसका कारण सत्ता गठबन्धनमा कुनै खटपट नआउने समेत दाबी गरे । '

'म पार्टीकै जिम्मा लिएर भन्न सक्छु कि अहिले नेकपा एमालेसँग भएको सहमतिको कार्यान्वयनमा कांग्रेसका तर्फबाट कुनै तलमाथि हुदैन । अहिले २ वर्ष नेकपा एमालेका अध्यक्षज्युको नेतृत्वमा सरकार चलाउने भनेर जुन भनिएको छ ।' 

' हाम्रो कारणले, हामीेले चकचक गरेर, हामीले लोभ गरेर, यता उता हात लम्काएर यो दुई वर्ष उहाँले सरकार चलाउने कुराको सन्दर्भमा कही पनि हाम्रो कारणले तलमाथि हुँदैन,' उनले भने ।

महामन्त्री थापाले नेकपा (माओवादी केन्द्र)  का अध्यक्ष पुष्पकमल दाहालको अन्य दललाई सधैँभरि झुक्क्याउन सक्छु भन्ने भ्रम र चकचकको कारणले नै कांग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको दाबी गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार