काठमाडौँ, साउन । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार जिम्मेवारीपूर्वक एवम् गम्भीर भएर अघि बढ्ने बताएका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित कार्यालयमा शुक्रबार एमालेद्वारा प्रधानमन्त्री ओलीलाई सुझाव सहितको प्रतिवेदन प्रस्तुत कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
उनले भने, “सरकार जिम्मेवारपूर्वक जान्छ, गम्भीर रुपमा जान्छ । यो सुझाव सरकारलाई नै दिइएको हो, विभिन्न विषयमा आवश्यकता अनुसार सुझाव आइरहुन् । पार्टी अध्यक्षको हैसियतले धन्यवाद र प्रधानमन्त्रीको हैसियतले पनि धन्यवाद ।”
प्रधानमन्त्री ओलीले कस्ता काम कसरी गर्नुपर्छ भनेर विभिन्न पक्षमा विश्लेषण एवम् सुदृढीकरणसहितको सुझाव प्राप्त भएकोमा कार्यदललाई धन्यवाद ज्ञापन गरे ।
उनले भने, “सरकारका निम्ति कार्यसम्पादन गर्न उपयोगी हुने, अरु राजनीतिक दलले पनि विरोध मात्र गर्ने होइन, रचनात्मक ढंगबाट अवस्था यस्तो छ । यस्तो काम यसरी गर्न सकिन्छ भनेर, समाधानका चुनौती के के छन् ?”
देशलाई कसरी अग्रगमन र विकासको बाटोमा लाने भन्ने सन्दर्भमा सुझाव राख्नुभएकोमा धन्यवाद ।” अरु राजनीतिक दलबाट पनि रचनात्मक सुझावको अपेक्षा गरिएको उनको भनाइ छ ।
उनले यी सुझावलाई सम्बन्धित मन्त्रालयमा पठाइने र छलफल गरिने बताए ।
प्रधानमन्त्री ओलीले भने, “सरकारको कामलाई अघि बढाउन यो हामी सम्बन्धित मन्त्रालयलाई पठाउँछौं र छलफल गर्छौं ।समृद्ध नेपाल, सुखी नेपालीको लागि हामीले विगतमा कस्ता नीति लिन खोज्यौं ? भनेर यो रेकर्डको रुपमा रहनेछ ।”
उपमहासचिव ज्ञवालीले नौ वटा शीर्षकमा सुझाव मागिएको भन्दै आगामी तीन वर्षभित्र गर्न सकिने बढीमा दश वटा ठोस कार्यक्रम सुझावमा पेश गरिएको जानकारी दिए ।