२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नारागणगढ–मुग्लिन सडक

त्रिशूलीमा दुई बस बेपत्ता   : ' यात्रुको खोजी गर्न बाहिरबाट विज्ञ ल्याइँदै'

मंगलवार , श्रावण १, २०८१

 

काठमाडौँ, साउन । नारागणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस र धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले त्यसको खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ । 

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्मकुमार भुसालले सोमबारै भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको जानकारी दिए । 

उनले घटना भएको चार दिन बितिसक्दा गाडीको अवस्था पत्ता लाग्न नसकेकाले अन्तर्राष्ट्रिय विज्ञ टोली नै मगाएर खोजी गर्न लागिएको जानकारी दिए । 

गृह मन्त्रालयका अनुसार अहिले पनि पाँच सय सरक्षाकर्मी परिचालन गरेर नेपालमा भएका सबै प्रविधिको प्रयोग गरी खोजी जारी छ । 

यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरासँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । 

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । सोमबारसम्म १४ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । 

अझै ४८ जना यात्रु र दुई बस बेपत्ता रहेका छन् । बसको चलानमा उल्लेख भएको र आफन्तबाट प्राप्त जानकारीअनुसार एञ्जल बसमा ३८ र गणपति डिलक्समा २७ जना यात्रु रहेको खुलेको छ । 

सोमबारै नवनियुक्त गृहमन्त्री रमेश लेखकले उक्त घटनाको अध्ययन गर्न एक कार्यदल बनाएका छन् । उक्त कार्यदललाई १० दिनको समय दिइएको छ । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार