२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

लगानी बोर्ड

पश्चिम सेती र सेती नदी–६ को डिपिआर मस्यौदा  :  ' एनएचपिसी’ले बुझायो ' 

बुधवार , आषाढ ६, २०८१

 

काठमाडौँ, असार ।  भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ ।

एनएचपिसीले आज डिपिआरको मस्यौदा बुझाएको लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।  

“परियोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको कम्पनीले डिपिआरको मस्यौदा बुझाएको छ । यसमा लगानी बोर्डले आवश्यक अध्ययन प्रतिक्रिया (कमेन्ट) दिइसकेपछि त्यसलाई सम्बोधन गरेर अन्तिम डिपिआर तयार हुनेछ”, सहसचिव अधिकारीले  बताए ।

 अन्तिम डिपिआर तयार भएपछि परियोजना विकास सम्झौता (पिडिए) प्रक्रिया अघि बढ्नेछ ।
     
सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको एसआर–६ आयोजनाको विस्तृत परियोजना अध्ययनका लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न २०७९ भदौ २ गते लगानी बोर्ड र एनएचपीसी लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भइ विसं २०७९ कात्तिकमा सर्वेक्षण अनुमतिपत्र जारी भएको थियो । 

सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र डिपिआर तयार गरी लगानी बोर्डको कार्यालयमा पेस गर्नेगरी उक्त सम्झौता भएको थियो ।

त्यसअघि, २०७९ जेठ २३ गते बसेको लगानी बोर्डको ५१औँ बैठकले यी दुई आयोजनाको विकास तथा लगानीको खाका तयार पार्ने जिम्मा भारतीय कम्पनी एनएचपिची लिमिटेडलाई दिने निर्णय गरेको थियो । 

त्यस्तै २०७९ साउन २३ गते बसेको लगानी बोर्डको ५२औँ बैठकले सर्वेक्षण लाइसेन्स जारी गर्ने समझदारीपत्र अनुमोदन गरेको थियो ।
     
परियोजनाको अन्तिम डिपिआरले समग्र सामाजिक, आर्थिक, भौगर्भिक, प्राविधिक एवं वातावरणीय पक्षबारे जानकारी दिनेछ । 

त्यस्तै परियोजनाको अनुमानित लागत, आयोजना निर्माण सुरु तथा सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारण लाइन निर्माण, वित्तीय स्रोतको उपलब्धता लगायतका विषयमा पनि डिपिआरले मार्गदर्शन गर्नेछ । 

डिपिआरको विश्लेषणपछि परियोजना अगाडि बढाउन चाहेमा पिडीए हुनेछ ।

यसअघिको अध्ययनअनुसार  ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको लागत एक हजार ३२० मिलियन अमेरिकी डलर र ४५० मेगावाट उत्पादन क्षमताको एसआर–६ आयोजनाको लागत आठसय मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको थियो ।
(

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार