२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भारतीय सहयोगमा निर्मित बिद्यालय भवन हस्तान्तरण 

बुधवार , आश्विन २४, २०८०

काठमाडौँ, असोज । भारत सरकारले ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको  एककरोड ९२ लाख रुपियाँ आर्थिक सहयोगमा काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुखश्री प्रसन्न श्रीवास्तव र  जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख श्री सन्तोष बुढाथोकीले आज संयुक्त रुपमा उद्घाटन  गरेका छन । 

सो भवनको उद्घाटन गर्दै औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । सो उद्घाटन समारोहमा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो । 

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तल्ले विद्यालय भवनको निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको जानकारी दिइएको छ ।  

SMK_1771.jpg
undefined

भारत सरकार र नेपाल सरकारबीच भएको एक सम्झौता अनुरुप यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’को रुपमा निर्माण गरिएको हो । जिल्ला समन्वय समिति, काठमाडौंले यस परियोजनाको कार्यान्वयन गरेको हो । 

उद्घाटन समारोहमा बोल्दै दूतावासका नियोग उप–प्रमुखश्री प्रसन्न श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गरे । 

उनले भने,  दुई देशबीचको यो साझेदारीले पछिल्ला वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ ।  उनले नेपालले तय गरेका प्राथमिकता अनुरुप र दुवै देशका जनताको हितका निमित्त दुई देशबीचको विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैं प्रतिबद्ध रहेको बताए । 

महेन्द्र राष्ट्रिय विद्यालयको स्थापना जागरुक शिक्षकहरुको संयुक्त प्रयासमा सन् १९५६ मा खुला मैदानमा प्राथमिक विद्यालयको रुपमा भएको थियो । नेपाल सरकारले सन् १९७३ मा यस विद्यालयलाई प्राथमिक विद्यालयको रुपमा मान्यता दिएको थियो । 

सन् १९९५ मा निम्न माध्यमिक तहमा स्तरोन्नति भएको यो विद्यालय सन् २००० मा माध्यमिक तहमा र पछि गएर उच्च मध्यमिक तहमा स्तरोन्नति भएको हो । यस विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ५० प्रतिशत छात्रा छन् ।

स्थापनाकालदेखि नै यो विद्यालयले स्थानीय स्तरमा गुणस्तरीय शिक्षाको सन्दर्भमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ । 
सन् २००३ यता भारतले नेपालमा विभिन्न क्षेत्रमा ५४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । 

तीमध्ये काठमाडांैंका ४० गरी बागमती प्रदेशमा १०५ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयलाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहार स्वरुप प्रदान गरिसकेको छ । भारतले हालसम्म काठमाडौंमा ६९ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपलब्ध गराइसकेको छ । 

निकटको छिमेकी भएकाले भारत र नेपालबीच व्यापक एवम ्बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणले नेपाली जनताको उत्थान गर्न तथा शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा भारत सरकारले गरेकोे निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार