२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सङ्घीय शिक्षा विधेयक 

प्रधानमन्त्री प्रचण्डले भने :  ' छिट्टै संसदमा विधेयक  पेस गर्ने तयारी '

' शिक्षा क्षेत्र र शिक्षक पेसालाई व्यवस्थित बनाउन धेरै काम बाँकी '

सोमवार , फाल्गुण २९, २०७९

काठमाडौँ, फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन ।

 एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले देशका गाउँ–गाउँ र टोल-टोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे ।  

प्रधानमन्त्रीले शिक्षा क्षेत्र र शिक्षक पेसालाई व्यवस्थित बनाउन अझै धेरै काम बाँकी रहेको उल्लेख गरे ।  उनले नेपालको राजनीतिका उच्च पदमा रहेका धेरैजसो व्यक्ति शिक्षक पृष्ठभूमिबाटै आएको समेत स्मरण गरे । 

शिक्षक पेसालाई मर्यादित बनाउनका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिँदै उनले सङ्घीय शिक्षा ऐनलाई छिट्टै सङ्घीय संसद्मा पेस गर्ने तयारी भइरहेको बताए । 

मुलुकको निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले अब आर्थिक सामाजिक तथा अन्य महत्वपूर्ण कामलाई अगाडि बढाइने जानकारी दिए ।  

प्रधानमन्त्रीले हालैको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेको जानकारी दिँदै प्रधानमन्त्रीले सबै आन्दोलनको उचित सम्मान गरिएको बताए ।  

जनयुद्ध, जनआन्दोलनको समायोजनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको तथ्य पेस गर्दै प्रधानमन्त्रीले समावेशी, समानुपातिक मूल्य तथा मान्यतालाई खोस्न भइरहेको प्रयत्नलाई असफल बनाउन सबैको सार्थक सहयोग जरुरी रहेको बताए ।  

प्रतिक्रियावादीको गल्तीबाट नेपाली जनता र जनताका प्रतिनिधिले विगतमा पनि पटक–पटक फाइदा लिएको र यसपटक पनि त्यस्तै हुने स्पष्ट पार्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र यसको मूल्य मान्यतालाई जोगाउन लागिपर्नुपर्ने स्पष्ट पारे ।  

शान्ति सम्झौता, त्यसको नेतृत्वकर्ता र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने शक्तिलाई असफल बनाउने र घेरा हाल्ने प्रवृत्तिलाई असफल बनाउन क्रान्तिकारी शक्तिबीचमा साझा मत जरुरी रहेको उनको भनाइ छ । 

सत्य निरुपण तथा मेलमिलाप आयोग जस्ता महत्वपूर्ण विधेयक सङ्घीय संसद्मा पेस भइसकेको उल्लेख गर्दै उनले पछिल्ला दिनमा शान्ति सम्झौता विपरीतका क्रियाकलाप देखिए पनि त्यो क्रमशः पराजित हुने धारणा राखे ।  

प्रधानमन्त्रीले जनविरोधी यस्ता कार्यकाविरुद्ध निरन्तर निगरानी र सतर्क हुनु जरुरी रहेको बताए ।  उनले त्यसका लागि सङ्गठन विस्तार र विचार निर्माणको काम गर्नुपर्ने उल्लेख गरे । 

विगतमा घेरा हालेर सखाप पार्नेहरु नै यतिबेला पनि पुनः षड्यन्त्र गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विभिन्न धारामा विभक्त माओवादी शक्तिलाई पुनः एक ठाउँमा आउन त्यसले मद्दत गरेको बताए । 

 विगतमा विविध कारणले पार्टी विभाजन हुन जाँदा जनतामा भ्रम पर्न गएकाले कमजोर देखिए पनि एउटै विचारमा केन्द्रित रहेका शक्ति पुनः एक ठाउँमा आएर मिल्नैपर्ने उनले उल्लेख गरे ।  

विगत केही समय माओवादी शक्ति विभिन्न भङ्गलामा विभक्त भए पनि अब एक हुने समय आएको तर्क गर्दै प्रधानमन्त्रीले निकै ठूलो एकता हुने विश्वास पैदा भएको बताए ।  प्रधानमन्त्रीले माओवादी धारका विगतमा सबै तीतामीठा, राम्रा–नराम्रा, अनुभवलाई आफ्नै अनुभवका रुपमा मूल्याङ्कन गरेर जानुपर्नेमा जोड दिए ।   

उनले भने, “निषेध गर्ने रुपमा नभई त्यसको समीक्षा गरौँ । निष्पक्ष ढङ्गले समीक्षा गरौँ । जुनसुकै धारमा लागेर ज्यान गुमाउनेलाई शहीदका रुपमा सम्मान गरौँ । उनीहरुको विचारलाई आत्मसात् गरौँ ।” 

प्रधानमन्त्री दाहालले  फेरि एकपटक माओवादी शक्ति एकताबद्ध भएर परिवर्तनलाई सुदृढ बनाउने समाजवादको आधार बनाउने काममा सफल हुने विश्वास व्यक्त गरे ।  
 
समाजवादको आधार तयार पार्नका लागि शिक्षक मोर्चाको भूमिका महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो । विचार र जनमत निर्माणका लागि शिक्षकको भूमिका असाध्यै महत्वपूर्ण रहेको तथ्य पेस गर्दै प्रधानमन्त्रीले वैज्ञानिक समाजवादका लागि पहल गर्न आग्रह गरे ।  

धेरै ठूलो सङ्घर्ष र बहसपछि मात्रै संविधानमा समाजवाद उन्मुख लेखिएको र मौलिक अधिकार थप गरिएको, महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम थारूलाई हकअधिकार प्रदान गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसलाई अझ सुदृढ गर्न सही विचारका आधारमा जनमत निर्माण गर्नुपर्ने बताए । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेताहरु गिरिराजमणि पोखरेल, नारायण दाहाल लगायतले परिवर्तनको प्रवाहको संरक्षणका लागि गाउँ, टोलटोलमा खटिने शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए ।  

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि खारेज गराउन लागिपरेका शक्तिलाई तह लगाउन शिक्षक सङ्गठनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार