काठमाडौँ, मङ्सिर । निर्वाचन आयोगले निर्वाचनको मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन छ बुँदे निर्देशन जारी गरेको छ । सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको आयोगले जनाएको छ ।
आयोगले प्रत्येक मतगणनास्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारका लागि सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउन र सो कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्न भनेको छ ।
यस्तै मतगणना कार्यको सुरुआतमा एकपटक वा पालो मिलाएर भिडियो तथा फोटो पत्रकारलाई गणनास्थलको दृश्यर तस्बिर लिन सक्ने गरी आवश्यक प्रबन्ध गर्न तथा मतगणनाको प्रत्येक घण्टामा प्राप्त मत परिणामलाई मतगणनामा रहेका कर्मचारी, दल, उम्मेदवार र प्रतिनिधिले एकीन गरी सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिएका छन ।
मतगणना स्थलमा राजनीतिक दल र उम्मेदवारको सहमतिका आधारमा माइकङि वा डिस्प्ले वा अन्य माध्यमबाट मत परिणामको सूचना उपलब्ध गराउन निर्देशनमा भनिएको छ । आयोगले मतगणनाबारे आधिकारिकता पुष्टि नगरी गलत सूचना प्रवाह नगर्न नगराउन सबै सञ्चार माध्यमलाई आग्रह पनि गरेको छ ।