२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल कम्युनिष्ट पार्टी माओबादी 

अध्यक्ष दाहालले भने : 'बाबुरामजीसँग चुनावसम्म मात्र सहकार्य हैन, फेरि एकठाउँ हुन्छौँ' 

शनिवार , आश्विन ८, २०७९

 

काठमाडौँ, असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले  डा.बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभएर दीर्घकालीन रुपमा नै एकैठाउँ रहने गरी   अगाडि बढिएको बताएका छन । 
अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य धेरै लामो हुने बताए ।
आफूहरू एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको स्वीकार गर्दै उनले अब मुलुकमा फेरि समृद्धि, विकास र समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरू सहकार्यमा आएको पनि बताए ।
नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । यस क्रममा उनले समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरू मर्न चाहेको भन्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गरेका थिए ।
अध्यक्ष दाहालले भने, ‘हामीले समाजवादको लागि एउटा नयाँ जनयुद्ध नयाँ खालको गोरेटो कोर्ने संकल्प गरेपछि एकै ठाउँमा केन्द्रित हुने हो । चुनाव आइ नै हाल्यो । चुनावमा त हामी आ–आफ्नो पार्टी भन्दै तर एउटै चुनाव चिन्हबाट जाने निर्णय गरेका छौं । 
तर यो चुनावका लागि मात्रै गरिएको निर्णय होइन । तपाइँहरूलाई के नलागोस् भने दुई जना बसेर चुनावका लागि मात्रै गरे । तर, यसको लागि मात्रै गरिएको छैन । यो त्योभन्दा धेरै माथि उठ्न बल गरिएको छ । र, यो देशलाई फेरि एकचोटी समृद्धिको, विकासको, समाजवादको एउटा नयाँ मोडल हामीले नै दिनुपर्ने हुन्छ, हामीले नै दिन्छौं । 
हामी हिजो पनि एकअर्काको पूरक भएर आन्दोलनलाई यहाँसम्म ल्याएको हो । बानी, बेहोरा र स्वभावको हिसावले बाबुरामजीको र मेरो धेरै मिल्दैन । तर फेरि हामी दुइटा एक ठाउँमा हुँदा एकको अभाव अर्कोले पुर्ति गरिदिने, अर्कोको अभाव अर्कोले पूर्ति गरिदिने एउटा ठूलो शक्ति र तागत भएको थियो । 
अब हाम्रो जीवनको धेरै वर्ष त बाँकी छैन । बढीमा हामीले हिसाव गरेका छौं एक दशक । हाम्रो प्रत्येक काम एक दशकमा एउटा गरेको देखिन्छ । हामीले एक दशक लगाएर जनयुद्धको तयारी गर्‍यौं । एक दशक जनयुद्ध गर्‍यौं ।
 एक दशक संविधान बनाउनेमा बितायौं । अब एक दशक नयाँ प्रयोग गर्ने भनेर हामी आ–आफ्नो ढंगले गयौं । परिणाम त्यति राम्रो देखिएन । अबको दशक फेरि एकठाउँ केन्द्रित भएर समाजवादको नयाँ मोडेल दिनुछ यो देशलाई ।'
आफूहरूले संयुक्त रुपमा समाजवादको नयाँ मोडेल ल्याउन संघर्ष गर्ने र त्यसमा साथ दिन सबैलाई उनले आह्वान समेत गरेका थिए । अध्यक्ष दाहालले भट्टराई र आफूबीच बानी, व्यहोरा र स्वभाव नमिले पनि एकले अर्काको अभाव पूर्ति गर्दै आएको उल्लेख गर्दै अब मुलुकलाई समृद्धिको अभाव हुन नदिने गरी अघि बढने संकल्प लिएको पनि पटकपटक दोहोर्‍याएका थिए ।

२०७२ को असोज पहिलो साता दाहालसँगको ३ दशक लामो राजनीतिक सम्बन्ध तोड्दै बाबुराम भट्टराईले २०७३ जेठमा नयाँ शक्ति पार्टी सञ्चालन गरेका गरेका थिए । त्यसबेला उनले अबको निकास समावेशी विकास, समृद्धि सम्भव छ हाम्रै पालामा, नारासहित, अब माओवादी जनयुद्धको औचित्य समाप्त भएको घोषणा गरेका थिए । जुन पार्टी २०७८ मा विघटन भयो ।

यद्यपि उनले २०७६ वैशाखमै नयाँ शक्ति पार्टीलाई संघीय समाजवादी फोरमसँग एकीकरण गरेका थिए । जुन पार्टी हाल विघटन भइसकेको छ । पछिल्लो समय भट्टराईले माओवादी केन्द्रसँग तालमेल गरी आगामी मंसिरमा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । मंसिरमा हुने निर्वाचनपछि भने माओवादी केन्द्र र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता गर्ने तयारी भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार