काठमाडौँ, साउन । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागको तथ्याङ्कक अनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगष्ट ११) सम्म ८५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ ।
विभाग अन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार कूल ७७ वटा केन्द्रको तथ्याङ्कमा सोही अवधिको सरदर वर्षा ८६८ दशमलव सात मिलिमिटर भएको छ । जस अनुसार साउन २६ सम्म सरदरको ९८ दशमलव नौ प्रतिशत वर्षा भएको हो ।
यो वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने हावापानी शाखाले आकलन गरेको छ । सरदर भन्नाले सन् १९९१ देखि २०२० सम्मको जुन १ देखि अगष्ट ११ सम्मको जम्मा वर्षाको वार्षिक औसत जनाउँदछ ।
रासस लेख्छ, हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन सुरु भएयता हालसम्म ८३५ दशमलव तीन मिलिमिटर अर्थात ५६ दशमलव सात प्रतिशत वर्षा भएको जानकारी दिएका छन ।
यो वर्षको मनसुनको औसत सरदर वर्षा एक हजार ४६२ मिलिमिटर हुने प्रक्षेपण गरिएको छ । उनले अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने आकलन गरिएको बताएका छन ।
प्रदेश नं १ र बागमती प्रदेशका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा भएको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ । नेपालमा यो वर्ष गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ ।
नेपालमा पूर्वीभेग भएर मनसुन भित्रिने गर्दछ । मनसुन अवधिमा एक हजार पाँचसय मिलिमिटर हाराहारी वर्षा हुने जनाइन्छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जारी मनसुनमा विशेष गरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मक रूपमा तराई क्षेत्रमा कम वर्षा भएको बताएकी छन ।
महाशाखाको पछिल्लो विवरणमा हाल मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । देशका थोरै स्थानमा मेघ÷गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा मेघ÷गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भोलि आइतबार र सोमबार मौसम बदली भई देशका धेरेजसो स्थानमा मेघ÷गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए ।