काठमाडौँ, साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई थप उत्प्रेरित र आकर्षण गर्न सरकारको तर्फबाट गर्नुपर्ने सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन ।
उनले मुलुकमा दिगो पूर्वाधार निर्माणको आवश्यकता परिपूर्ति गर्न लगानी बोर्डमार्फत भइरहेका कार्य र उपलब्धिको प्रशंसा गर्दै ठूला र राष्ट्रिय महत्वका परियोजनालाई द्रुत गतिमा अगाडि बढाउन निर्देशनसमेत दिएका छन ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पेस गरेको आर्थिक वर्ष २०७८र०७९ को कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उनले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक तथा वित्तीय परिदृश्यहरू चुनौतीको रूपमा देखापरेको परिप्रेक्ष्यमा ठूला लगानी आकर्षण तथा परिचालन गर्न बोर्डबाट थप कार्य कुशलता प्रदर्शन गर्न निर्देशन दिए ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष देउवासमक्ष लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले आज गत आवको कार्यसम्पादन प्रतिवेदन पेस गरेका थिए । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच २०७८ साल साउन ३२ गते आव २०७८÷०७९ का लागि ४२ वटा क्रियाकलापमा समयसारिणीसहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार भएको थियो ।
लगानी बोर्डका चार प्रमुख रणनीतिक खम्बाहरू परियोजना विकास र व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास, समन्वय सहकार्य र साझेदारीमा केन्द्रित रही भएको करार बमोजिम सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण समेटिएको उक्त प्रतिवेदनमा तोकिए अनुसारका सूचकहरू पूरा भई शतप्रतिशत कार्य सम्पन्न भएको बोर्डले जनाएको छ ।
उक्त आर्थिक वर्षमा रु एक खर्ब २२ अर्बभन्दा बढी लगानी स्वीकृत भएको व्यावसायिक योजनासहितको पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी लागू गरिएको लगानी बोर्डको परियोजना बैंकसम्बन्धी मार्गदर्शन तयार भएको छ । साथै परियोजनाको अनुगमनसम्बन्धी ड्यासबोर्ड समेत तयार भएको छ ।
त्यस्तै पश्चिम सेती तथा सेती नदी–६ संयुक्त जलविद्युत् परियोजनाको विकास ढाँचासम्बन्धी अध्ययन कार्य सम्पन्न भएको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थपसम्बन्धी अध्ययन कार्य सम्पन्न भएको बोर्डले जनाएको छ ।
यसैगरी नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न उपलब्ध प्रविधिहरुको तुलनात्मक विश्लेषणसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । साथै लगानी बोर्डलाई सूचना प्रविधिमैत्री बनाउन प्रोजेक्ट बैंक म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, वन स्टप सर्भिस जस्ता विभिन्न प्रणालीहरुको विकास भएका छन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रियरूपमा विभिन्न निकायसँगको समन्वयमा लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रमहरु आयोजना गरिएको बोर्डका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले जानकारी दिएका छन ।
प्रधानमन्त्री देउवासमक्ष प्रतिवेदन पेस गर्दै प्रमुख कार्यकारी अधिकृत भट्टले लगानी बोर्डले लगानी आकर्षण, परियोजनाको सम्पूर्ण चक्रमा सहजीकरणका साथै लगानी बोर्डको कार्यालयलाई ‘पीपीपी सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्न प्रतिबद्ध रहेको जानकारी गराएका छन ।
उनले कार्यालयले परिणाममुखी र उत्तरदायी कार्यप्रणाली एवं संस्थागत क्षमता विकासमा फड्को मार्न सफल भएको बताउँदै प्रधानमन्त्रीबाट प्राप्त मार्गदर्शन अनुरूप परियोजना विकास, संस्थागत सुदृढीकरण र स्थायित्वका लागि भएका महत्वपूर्ण विकासक्रमबारे जानकारी गराएका छन ।