काठमाडौँ, साउन । देशभर पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार ९२६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा नौ लाख ८८ हजार आठ सय २१ र एन्टिजेनविधिबाट गरिएको परीक्षणमा एकलाख ४३ हजार ७९२ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप ३२४ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौलाख ७१ हजार २५० पुगेको छ ।
नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६९ पुगेको छ । यस रोगका कारण पछिल्लो समय थप एकको ज्यान गएको छ । त्यसैगरी पछिल्लो समय ४७ हजार ३४१ जनाले खोप लगाएका छन् ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६०२ पुगेको छ । होम आइसोलेशनमा पाँच हजार ४४०, संस्थागत आइसोलेशनमा एक सय ६२ र सघन उपचार कक्ष (आइसियु) मा ४४ जनाको उपचार भइरहेको छ ।