२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरकारी निर्णयलाई चुनौती : 'निजी विद्यालय सञ्चालन'

आइतवार , माघ ९, २०७८


सिरहा, माघ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी)ले माघ १५ गतेसम्म जिल्लाका सम्पूर्ण विद्यालय बन्द गराउन गरेको निर्णयलाई यहाँका निजी विद्यालयहरूले चुनौती दिँदै भौतिक रूपले पठनपाठन गर्दै आएका छन् ।
कोरोना सङ्क्रमणको तेस्रो लहरबाट बालबालिका तथा विद्यार्थीलाई जोगाउन डीसीसीएमसीले गत माघ ६ गतेदेखि जिल्लाभरिका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सबै शिक्षण संस्थालाई माघ १५ गतेसम्म भौतिक कक्षा स्थगित गरी भर्चुअल माध्यम वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाउन सार्वजनिक सूचना जारी गरेको थियो । 
तर, सिरहा जिल्लाका निजी विद्यालयहरूले भने डीसीसीएमसी र सरकारी निर्णयलाई चुनौती दिँदै निर्बाध रूपमा भौतिक रूपमा कक्षा सञ्चालन गरिरहेका छन् । निजी विद्यालयबाहेक जिल्लाभित्र रहेका अन्य सामुदायिक विद्यालय, कलेज र प्राविधिक शिक्षण संस्था सबैले डीसीसीएमसीको निर्णय अवलम्बन गर्दै पठनपाठन बन्द गरिसकेका छन् ।
सरकारी तबरबाट विद्यालय बन्द गर्न सबैलाई सूचित गरिसकेपछि पनि सिरहाको प्याब्सन र एनप्याब्सन अन्तर्गतका निजी विद्यालयले उक्त निर्णयलाई टेरेका छैनन् । अझ लहानका निजी विद्यालयले त खुलमखुल्ला प्रहरी कार्यालय अगाडिबाटै स्कुल बस दौडाइ टोलटोलबाट विद्यालय ओसारिरहँदा समेत स्थानीय प्रहरी मौन छ । 
त्यति मात्रै होइन, विद्यालयमा अध्ययन गर्न नआउने विद्यार्थीलाई सम्बन्धित कक्षाका शिक्षकमार्फत ताकेता गर्ने गरेपछि कोभिड सङ्क्रमणका कारण विद्यालय पठाउन नमानेका अभिभावकले समेत आफ्ना छोरा÷छोरीलाई विद्यालय पठाउन बाध्य हुनुपरेको छ ।
हामीले यो अवस्थामा विद्यालय सञ्चालन गर्न रोक्नु हुन्न भनेर भनिरहेका छैनाँै तर अभिभावकबाटै विद्यालय सञ्चालन गर्न दबाब आइरहेको छ, एनप्याब्सन सिरहाका अध्यक्ष प्रदीप तिवारीले भने, धेरै अभिभावक र विद्यार्थी अनलाइन प्रविधिसम्म पहुँच नपुग्ने भएकाले भौतिक रूपमै कक्षा सञ्चालन गर्नुपरेको हो ।
तर, सिरहाका अधिकांश अभिभावकले भने विद्यालयलाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरे पनि निजी विद्यालयका सञ्चालकले नमानेको गुनासो छ । सरस्वती पूजा आइरहेको छ, भौतिक रूपमा कक्षा सञ्चालन भएन भने उनीहरूलाई विद्यार्थीबाट रकम असुल्न अप्ठ्यारो हुन्छ, एक अभिभावकले भने,  त्यसैले निजी विद्यालयले विभिन्न शीर्षकको नाममा रकम उठाउने गरेका कारण पनि उनीहरू अनलाइन कक्षा सञ्चालन गर्न मन पराउँदैनन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार