इनरुवा, पुस । सुनसरीको विभिन्न स्थानीय तहमा विद्यार्थीको अनुपातमा विद्यार्थी अभाव रहेको शिक्षा विकास तथा समन्वय एकाई सुनसरीले जनाएको छ । जिल्लाका १२ स्थानीय तहका १२४ वटा वडामा रहेका ३८४ सामुदायिक विद्यालयमा कुल दुई हजार ७१८ जना शिक्षक मात्र कार्यरत रहेका छन् ।
शिक्षकको सङ्ख्याको आधारमा प्रति शिक्षकलाई ८९ जना विद्यार्थीलाई पढाउनुपर्ने अवस्था रहेको छ । जिल्लामा सामुदायिक विद्यालयमा एक लाख ११ हजार १४६ छात्रा र एक लाख २१ हजार ७९६ छात्र गरी दुई लाख ३२ हजार ९३२ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाई सुनसरी प्रमुख रमेशबहादुर दाहालले जानकारी दिएका छन ।
जिल्लाको प्रावि तहका विद्यालयका लागि एक हजार ६८५ जना, निमाविमा ५५९ जना, मावि ३९९ जना र ११–१२ कक्षा माविका लागि ८५ जना शिक्षक रहेका छन् ।
यहाँका विद्यार्थीको सङ्ख्याको अनुपातमा शिक्षक अभाव भए पनि प्रावि तहमा भने विद्यार्थीभन्दा शिक्षक बढी रहेका छन् । सामुदायिक विद्यालयमा प्रावि कक्षा ५ सम्म विद्यार्थीको सङ्ख्या न्यून भएको छ भने संस्थागत निजी विद्यालयमा भने कक्षा ५ सम्म विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको दाहालको भनाइ छ ।
कोशी गाउँपालिकामा पाँच वटा मावि रहेकोमा सात जना मात्रै माविको दरबन्दीका शिक्षक कार्यरत छन् । कोशीमा विद्यार्थीको अनुपातमा र माविमा समेत शिक्षकको अभाव रहेको शिक्षा शाखाका प्रमुख वेदराज अधिकारीले जानकारी दिएका छन ।
भोक्राहा नरसिंह गाउँपालिकामा चारवटा मावि रहेकोमा ६ जना मात्रै मावि शिक्षकको दरबन्दी रहेको छ । त्यसमा पनि तीन जना मात्र शिक्षक कार्यरत रहेका छन् । भएका दरबन्दीमा तीन जना रिक्त रहेको भोक्राहा नरसिंह गाउँपालिका शिक्षा शाखाका प्रमुख रमेशचन्द्र तिमिल्सिनाले जानकारी दिएका छन । यहाँका जनता मावि र पृथ्वी नारायण माविमा भने मावि स्तरको दरबन्दी छैन ।
इनरुवा नगरपालिकामा आठवटा मावि रहेकोमा २५ जना मात्रै माविको दरबन्दीका शिक्षक कार्यरत रहेका छन् । यहाँको आधारभूत प्रावि तहमा विद्यार्थी सङ्ख्या मुस्लिकले २५ देखि ५० जनासम्म छन् । माविमा भने एउटै कक्षामा ६० देखि १२० जनासम्म रहेको इनरुवा शिक्षा शाखाले जनाएको छ ।
गढी गाउँपालिकामा चार वटा मावि रहेकोमा १५ रदबन्दीका चार राहत अनुदान गरी २३ जना माविका शिक्षक कार्यरत छन् । प्राविमा विद्यार्थी कम, शिक्षक बढी र माविमा विद्यार्थी बढी, शिक्षक कम रहेको अवस्था गढी गाउँपालिकामा पनि रहेको शिक्षा शाखा प्रमुख छवि खड्काले जानकारी दिएका छन । खड्काका अनुसार गढीमा दुई वटा माविमा कक्षा १० सम्म र दुई वटा माविमा १२ कक्षासम्म पढाइ भइरहेको छ ।
हरिनगर गाउँपालिकमा चारवटा मावि रहेकोमा १४ जना मात्रै माविको दरबन्दीका शिक्षक कार्यरत रहेका शिक्षा शाखाका अजितकुमार मल्लिकले जानकारी दिए । यस गाउँपालिकामा पनि मावि तहका विद्यार्थीको अनुपातमा विषयगत शिक्षकको अभाव रहेको छ । त्यसैगरी, जिल्लामा कक्षा ११ र १२ पढाई हुने मावि तहमा ८५ जनाको मात्रै दरबन्दी रहेको छ ।
जिल्लामा धार्मिक विद्यालयमा चार हजार ७७२ छात्रा र सात हजार ३१० छात्रगरि १२ हजार ८२ जना विद्यार्थी अध्ययनरत छन् । संस्थागत विद्यालयमा ६६ हजार ५०६ छात्रा र ५८ हजार ३३२ छात्र गरि एक लाख २५ हजार २३८ विद्यार्थी अध्ययनरत छन् ।