लहान, पुस । प्रदेश २ सरकारकोे ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत साइकल वितरण कार्यक्रमले छात्राहरू उत्साही भएर नियमित रूपमा विद्यालयमा आउन थालेका छन् । अहिले साइकल पाएपछि अरू सुविधाको आसमा उच्च शिक्षा पढ्ने उमङ्ग र उत्साह छात्रामा देखिएको छ ।
लहान–१८ स्थित राजाजी जनता माध्यमिक विद्यालय कक्षा–९ मा अध्ययनरत सिर्जना सदाय र चाँदनी खातुन कहिल्यै पनि समयमा विद्यालय आउँदैनथे । साइकल पाएपछि समयमा विद्यालय र पढाइमा पनि अब्बल हुन थालेको त्यस विद्यालयका प्रधानाध्यापक इन्द्रदेव चौधरीले बताएका छन ।
उनको अनुसार साइकल पाएपछि पढाइमा देखिएको उत्साहले समग्र शैक्षिक वातावरण नै सप्रिन थालेको छ । छात्रको तुलनामा छात्रा पहिलेभन्दा पढाइमा गतिलो हुन थालेका छन् ।
मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ कार्यक्रमअन्तर्गत कक्षा–८ का ५१ जना छात्राले साइकल पाएका थिए । सबै कक्षाका छात्रा अहिले उत्साही भएर पढाइप्रति देखाएको मोह र अभिभावकले छोरीलाई उच्च शिक्षा पढाउन देखाएको रुचिले यस कार्यक्रमबाट अत्यन्तै सकारात्मक प्रभाव पारेको लहान–१५ स्थित सगरमाथा माध्यमिक विद्यालयका प्रधानाध्यापक दोस्तबहादुर भट्टराईको भनाइ छ ।
उनले भने, “साइकल वितरण कार्यक्रमबारे बाहिर जतिसुकै राजनीतिक रूपले नकारात्मक टीकाटिप्पणी भए पनि यसको प्रभाव विद्यालय र समाजमा अत्यन्तै सकारात्मक छ ।”
लहान–३, रघुनाथपुर माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताका अनुसार कक्षा–८ का छात्राले पाएको साइकलले उच्च शिक्षा हासिल गर्नसमेत हौस्याएको छ । अहिले साइकल दियो, पछि सरकारले अन्य सुविधा देला भने चाहना राखेरसमेत लगनशील हुन थालेका छन् ।
सानो पुरस्कारले महान् लक्ष्य हासिल गर्नका लागि मार्ग खोल्ने गरेको भनाइ जस्तै साइकल वितरणको प्रभाव देखिएको महिला अधिकारकर्मी गीता साहको भनाइ छ । उनी भन्छन, “प्रदेश २ सरकारले ल्याएको ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ पवित्र कार्यक्रमले लैङ्गिक समानता कायम गर्नसमेत मद्दत पु¥याएको छ । साइकल वितरणसँगै दाइजो प्रथा हटाउनतर्फ समेत सरकारले तदारुकता देखाउन आवश्यक छ ।”
यस कार्यक्रममा विपक्षी दलको प्रदेश सभा सदस्यको हैसियतले पूर्ण समर्थन रहेको सिरहा १ (क)का प्रदेश सभा सदस्य लगनलाल चौधरीले बताए । तर, यो कार्यक्रममा अनियमितता हुन नहुने हाम्रो धारणा छ ।
कति साइकल कति दरमा खरिद गरेको हो र बजारमा प्रतिसाइकलको मूल्य कति छ ? यसबारे प्रस्ट गर्न पटक–पटक मुख्यमन्त्री मो लालबाबु राउतलाई ध्यान आकर्षण गराइरहेको प्रदेश सभा सदस्य चौधरीले बताए ।